

महेन्द्रनगर । पातलो जिउडाल । गहुँ गोरो वर्ण । टाउकोमा क्याप टोपी अनि काँध र पिठ्युमा राष्ट्रिय झण्डा । हातमा समातिएका केही कागजात ।
कैलालीको गोदावरी नगरपालिका ३ का प्रकाश कुँबरले शुक्रबार विहान यस्तै आवरणमा महाकाली नदीको चार लेन पुलमा देखिएका हुन् ।

कुँबरले शुक्रबारदेखि चार लेन पुलबाट महाकाली मेची पैदल यात्रा सुरु गरेका छन् । शुक्रबार विहान गोदावरीबाट महेन्द्रनगर आएर उनले चार लेन पुगेर यात्रा थालनी गरे ।

महाकाली नदीको चार लेन पुलबाट यात्रा थालनी गर्न अघि कुँबरले नदीबाट जल लिए । त्यसपछि राष्ट्रिय झण्डा भिरेर पैदल यात्रा सुरु गरेका हुन् । कुँबरले पृथ्वीनारायण शाहको तस्बिर बोकेका छन् ।
देशका पूर्व पश्चिम सबै क्षेत्रमा राष्ट्रिय एकताको सन्देश फैलाउन यात्रा थालेको उनले बताए । ‘राष्ट्रिय एकताका लागि देशभर सन्देश फैलाउन महाकाली नदीको जल बोकर म महाकाली मेची पैदल यात्रा निस्केको हुँ’ उनले भने ।
महाकाली नदीको जललाई मेचीमा मिसाउने र त्यसपछि मेचीको जल लिएर महाकालीमा मिसाउने कुँबरले सुनाए ।


कुँबरले मेची पुग्न डेढ देखि दुई महिनासम्म लाग्ने बताए । व्यक्तिगत रुपमा सहयोग जुटाएर निस्किएका उनले यात्राका दौरानमा सबैको साथ सहयोग पाउने विश्वास व्यक्त गरे ।
कुँबरलाई राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्द सहितले उनलाई विदाई गरेका छन् ।
राप्रपा अध्यक्ष चन्द, सचिव शिशिर थापा सहित गोदावरी नगरपालिकाका मोहनराज भट्ट, लाल बहादुर विष्ट दुर्गा कुमार पोखेरल लगायत विदाईमा सहभागी भए ।

भट्टराई, विष्ट र पोखरेल लगायत कुँबरसंगै विहान आएका हुन् । उनीहरु कुँबरसंगै फर्किएका छन् । राप्रपा अध्यक्ष चन्दले कुँबरको मेची महाकाली यात्राले देशभर एकताको सन्देश दिने बताए ।
कुँबरले यात्रा गर्ने इच्छा राखेपछि आफूहरुले साथ दिएको शिक्षक समेत रहेका भट्टराईले भने । ‘वहाँले यात्रा गर्ने इच्छा राख्नु भो, यो त राम्रो नै काम हो भनेर हामीहरु पनि वहाँलाई सक्दो साथ दियौ’ भट्टराईले भने ।
महाकालीबाट मेची हिँडेर यात्रा गर्न समान्य नभएको उल्लेख गर्दै उनले भने, ‘वहाँको आँट निकै सराहनीय छ ।’

