
दोस्रो खुला पावर लिफ्टिङ्ग च्याम्पियनशिप सकियो, पुरुषमा गौरव भण्डारी र महिलामा भुमिका नाथ सबैभन्दा बलिष्ठ

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ ले भीजी फिटनेस सेन्टरसित सहकार्यमा आयोजना गरेको दोस्रो खुला पावर लिफ्टिङ्ग च्याम्पियनशिप २०८२ प्रतियोगिता सकिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्य र भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाको अध्यक्षतामा कार्यक्रम गरिएको छ । प्रतियोगितामा विभिन्न ४ जिम क्लबका खेलाडीले भाग लिएका छन् ।

च्याम्पियनशिपमा ३० जना खेलाडीहरुले विभिन्न ८ वटा तौल समूहमा सहभागिता जनाए । ५० वर्षमाथिका खेलाडीका लागि मास्टर क्लास भेटरान प्रतियोगिता पनि आयोजना गरिएको छ ।


च्याम्पियनशीप आयोजना गर्ने भीमदत्त नगरपालिका पहिलो स्थानीय तह हो । माघ १६ र १७ गते सम्पन्न भएको उक्त पावरलिफ्टिङ्ग च्याम्पियनशिपमा पुरुष तर्फ ६६ केजी मुनी, ७४ केजी, ८३ केजी, ८३ प्लस केजी र महिला तर्फ ५७ केजी मूनी, ६३ केजी, ६३ केजी प्लस तौल समूह र मास्टर क्लास अन्तर्गत भारोत्तलन गराइ प्रतिस्पर्धा गराइएको थियो ।
उक्त प्रतियोगितामा समग्रमा ५४५ केजी तौल उचालेर गौरव भण्डारी सबैभन्दा बलिष्ठ पुरुष विजेता भएका थिए भने समग्रमा २९७ केजी तौल उचालेर भुमिका नाथ सबैभन्दा बलिष्ठ महिला बिजेता भएकी छिन् ।

मास्टर क्लास भेटरान तर्फ प्रथम राम महरा, द्वितिय पंकज रावल र तृतीय स्थानमा कर्ण शाही विजय भएका छन ।उक्त च्याम्पियनशिपमा निर्णायक समति(ज्युरी) मेम्बरको रुपमा जीवन गौतम, सुवास उपाध्याय र एनडी पाण्डेय रहेका थिए । च्याम्पियनशिप कार्यक्रम संयोजन तथा संचालन भीनपा १८ का वडा सचिव दिनेश राज भट्टले गरेका थिए ।

