

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा एशियाली विकास बैंकको फेज–२ परियोजना अन्तर्गत सडक तथा ढल संरचना निर्माण कार्य सुरु भएका छन् ।
भीमदत्तका सव–इन्जिनियर तथा परियोजनाका फोकल पर्सन पवनचन्द्र लेखक लगायतको उपस्थितिमा भूमि पूजन गरी निर्माण कार्य थालिएको हो । परियोजनाअन्तर्गत अब क्रमशः सबै स्वीकृत सडक तथा ढल संरचनाको निर्माण अघि बढाइने बताइएको छ ।
नगर प्रमुख पदम बोगटीका अनुसार फेज–२ अन्तर्गत कुल ८.१४६ किलोमिटर सडक र १४.७१७ किलोमिटर ढल संरचना निर्माण गरिनेछ ।
१८ वटा सडक ढलसहित निर्माण हुनेछन् भने ३ वटा सडकमा छुट्टै ढल प्रणाली जडान गरिने योजना छ । नगरको दीर्घकालीन शहरी पूर्वाधार विकासका लागि यो चरण महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।


लामो प्रयास, निरन्तर समन्वय र सक्रिय पहलकदमीपछि नगरमा यो बहुप्रतीक्षित परियोजना भित्र्याउन नगर नेतृत्व सफल भएको हो ।
विशेषतः नगरप्रमुख बोगटी को दौडधुप, पहल र सम्बन्धित निकायसँगको समन्वयका कारण लगभग गुमिसकेको अवस्था पुगेको यो परियोजना भीमदत्त नगरपालिकामा समावेश भएको हो ।
निर्माण सुरु प्रमुख सडक तथा ढल योजना
मझगाउँ एयरपोर्ट–ऐरीघाट सडक
भासि पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फको सडक
बनगाउँ सडक–भगवती टोल
मामा भाञ्जा–निम्बुखडा सडक
भगतपुर रोड–नहरसम्म
रेडक्रस रोड
कभर्डहल रोड
पूर्व–पश्चिम राजमार्गदेखि ओपेरा तर्फको सडक
होटल चेतनदेखि भगतपुर रोड
पुष्पलाल चौकदेखि सुदूरपश्चिम विश्वविद्यालय गेटसम्मको सडक
मामा भाञ्जा रोड (दोस्रो खण्ड)
बिद्यानगर टोल कटान गल्ली–१ र २ (वडा–१८)
विष्णु टोल कटान गल्ली–१ र २ (वडा–१८)
द्वारिका मार्ग, जानकी टोल (वडा–४)
भगतपुर आदर्श टोल सिद्धिविनायक मार्ग
सम्झना, जनकी र श्रीकृष्ण मार्गमा ढल मात्र निर्माण
जगन्नाथ मार्गमा सडकसहित ढल निर्माण
परियोजना कार्यान्वयनसँगै नगर क्षेत्रमा आधुनिक सडक सञ्जाल र व्यवस्थित ढल निकास प्रणाली विस्तार हुने अपेक्षा गरिएको छ ।
