ghar sansar

चिया पसलका चुनावी गफगाफ

little buddha academy
khasi

–प्रभुनिधि पन्त

आजको आधुनिक समयमा सामाजिक सञ्जालको प्रभाव बढ्दो छ, तर चिया पसलको महत्त्व अझै कम भएको छैन। आजको डिजिटल युगमाFacebook, TikTok जस्ता सामाजिक सञ्जालहरूले सूचना प्रवाहलाई तीव्र र व्यापक बनाएका छन्। चुनावी बहसहरू अहिले मोबाइलको स्क्रिनमै सीमित जस्तो देखिन्छन्। तर, यथार्थमा हेर्ने हो भने, कञ्चनपुरका चिया पसलहरू अझै पनि समाजको धड्कनका रूपमा सक्रिय छन्। प्रत्यक्ष भेटघाटमा हुने संवाद, हाँसो, तर्क र अनुभवको आदान–प्रदानले दिने प्रभाव कुनै पनि अनलाइन बहसभन्दा फरक र गहिरो हुन्छ । फेसबुक वा अन्य माध्यममा जति छलफल भए पनि, प्रत्यक्ष भेटघाट गरेर गरिने कुराकानीको मजा र प्रभाव फरक हुन्छ । चिया पसलमा हुने गफगाफले मानिसलाई वास्तविक जीवनसँग जोडेर राख्ने गर्दछ ।

,orning glory badhai

लामो समय देखि चिया पसलले सामाजिक सम्बन्धलाई बलियो बनाउन ठूलो भूमिका खेल्दै आइरहेको छ । यहाँ हुने भेटघाट जमघटले नयाँ मित्रता बन्छ, पुराना सम्बन्धहरू अझ मजबुत हुन्छन् । चिया पसल मानिसहरूको आफ्नो समस्या साझा गर्ने र सुझाव लिने एउटा माध्यम पनि हो । यसले समुदायमा एकता र सहकार्यको भावना बढाउँछ ।

हाम्रो समुदाय का चिया पसलहरु केवल व्यापार गर्ने स्थल होइनन्, ती समाजका धड्कन हुन् । त्यहाँ हुने गफगाफले समाजको सोच, राजनीति, संस्कार र सम्बन्धलाई प्रतिबिम्बित गर्छ । यदि ती गफगाफलाई सकारात्मक, तथ्यमा आधारित र सम्मानजनक बनाइयो भने, चिया पसल समाज परिवर्तनको शक्तिशाली माध्यम बन्न सक्छन ।

नेपालको ग्रामीण तथा अर्धशहरी समाजमा चिया पसल केवल चिया बेच्ने स्थान होइन, सामाजिक, सांस्कृतिक र राजनीतिक अन्तक्र्रियाको केन्द्र हो । कञ्चनपुरमा पनि यही परम्परा जीवित छ । कुतियाकवरदेखि खल्ला मुसेट्टी झिलमिलादेखि बेदकोट भम्कासम्म, खडा कंकडदेखि डोकेबजारसम्म कञ्जदेखि मालुबेलासम्म महेन्द्रनगरदेखि गजरौलासम्मका चिया पसलमा बिहानैदेखि मानिसहरूको भीडले भरिन्छन् । किसान, मजदुर, व्यापारी, शिक्षक, विद्यार्थी, वैदेशिक रोजगारीबाट फर्किएका युवा—सबै जना यहाँ भेला हुन्छन् र देश, समाज र आफ्नो भविष्यबारे खुला छलफल गर्छन् ।

विशेषगरी फाल्गुन २१ गते नजिकिँदै गरेको निर्वाचनले कञ्चनपुरका चिया पसलहरूलाई झन् तातो बनाएको छ । बिहानको पहिलो चियासँगै सुरु हुने बहस दिनभरि चलिरहन्छ । “यसपालि परिवर्तन चाहिन्छ”, “पुराना नेताले वाचा पूरा गरेनन्”, “यो उम्मेदवारले काम गर्छ” जस्ता वाक्यहरू हरेक टेबुलमा गुञ्जिरहेका हुन्छन् । चिया पसलमा हुने यी सामान्य जस्ता लाग्ने गफगाफ वास्तवमा जनमत निर्माण गर्ने महत्वपूर्ण भूमिका निर्माण गर्छन ।

चिया पसलको एउटा विशेषता भनेको विविधता हो । यहाँ आउने मानिसहरू फरक–फरक पृष्ठभूमिका हुन्छन् । एकातिर अनुभवी वृद्धहरू हुन्छन्, जसले विगतका चुनाव, नेताहरूको व्यवहार र विकासका क्रमबारे आफ्ना अनुभव सुनाउँछन् । अर्कोतिर युवा पुस्ता हुन्छ, जसले नयाँ सोच, नयाँ दृष्टिकोण र परिवर्तनको माग प्रस्तुत गर्छ । “पहिला यस्तो हुन्थ्यो, अहिले यस्तो भयो” भन्ने तुलना मार्फत पुस्ताबीचको संवाद स्थापित हुन्छ । यसले समाजलाई निरन्तर सिकाइ र आत्ममूल्याङ्कनको प्रक्रियामा राख्छ ।

dirghayi clinic

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको उपस्थिति पनि चिया पसलका बहसमा उल्लेखनीय बनेको छ । उनीहरूले अन्य देशको विकास, सुशासन र सेवा सुविधासँग तुलना गर्दै कञ्चनपुरको अवस्थाबारे प्रश्न उठाउँछन्। सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी—यी सबै विषयहरू चिया पसलका बहसका केन्द्रमा पर्छन् । यसरी हेर्दा, चिया पसल केवल गफ गर्ने ठाउँ मात्र होइन, विकासका मुद्दाहरूलाई जनस्तरसम्म पुर्या उने प्रभावकारी माध्यम पनि हो ।

चिया पसलमा हुने गफगाफ कुनै कुनै ठाउमा पार्टीगत आग्रह र पूर्वाग्रहले गर्दा तर्क–वितर्क चर्किरहेका पनि देखिन्छन, तर उनीहरुमा सामान्य बहस व्यक्तिगत आरोप–प्रत्यारोपमा परिणत भएपनि सामाजिक संजालको जस्तो छाडापन भने देखिदैन । अझ आजको डिजिटल युगमा सामाजिक सञ्जालबाट आएका अपुष्ट वा भ्रामक समाचारहरू चिया पसलसम्म छिट्टै फैलिन्छन् । यसले मतदातालाई भ्रमित बनाइरहेको छ तर चिया पसल का गफले यो बिषयमा छलफल गरि सही निर्णयतर्फ धकेले को पनि देख्न सकिन्छ ।

यसैले, आजको सन्दर्भमा चिया पसलका बहसलाई जिम्मेवार र तथ्यमा आधारित बनाउनु अत्यन्त आवश्यक छ । कुनै पनि सूचना वा आरोपलाई सत्य मान्नु अघि त्यसको पुष्टि गर्नु, फरक विचारप्रति सम्मान राख्नु र सभ्य ढङ्गले आफ्नो धारणा प्रस्तुत गर्नु लोकतान्त्रिक संस्कारको आधार हो । चिया पसललाई यदि सकारात्मक बहसको केन्द्र बनाउन सकियो भने, यसले समाजमा स्वस्थ राजनीतिक चेतना विकास गर्न ठूलो योगदान पुर्याकउन सक्छ ।

कञ्चनपुरका चिया पसलहरू वास्तवमै साना “लोकतान्त्रिक मञ्च” जस्तै बनेका छन् । यहाँ कुनै औपचारिकता हुँदैन, तर विचार स्वतन्त्र रूपमा व्यक्त गरिन्छ। कसैले आफ्नो अनुभव सुनाउँछ, कसैले प्रश्न उठाउँछ, कसैले समाधान सुझाउँछ। यही प्रक्रिया नै लोकतन्त्रको आत्मा हो—जनताको सहभागिता, बहस र निर्णय ।

आज सामाजिक सञ्जालहरूले जति नै प्रभाव बढाए पनि, प्रत्यक्ष संवादको महत्व अझै घटेको छैन । चिया पसलमा हुने कुराकानीले विश्वास र सम्बन्धलाई बलियो बनाइरहेको देखिन्छ । यहाँ आँखामा आँखा जुधाएर गरिने बहसले मानिसलाई जिम्मेवार पनि बनाउँछ । यही कारणले गर्दा चिया पसल अझै पनि समाजको अभिन्न अंग बनेको छ ।

अन्ततः, कञ्चनपुरको चिया पसलमा हुने राजनीतिक गफगाफले वर्तमान निर्वाचनको वास्तविक तस्वीर प्रस्तुत गरिरहेको देखिन्छ । यी गफगाफ केवल समय बिताउने माध्यम होइनन्, बरु समाजको सोच, अपेक्षा र भविष्यको दिशालाई संकेत गर्ने महत्वपूर्ण संकेतहरू हुन् । यदि यी छलफलहरूलाई सकारात्मक, तथ्यमा आधारित र सहिष्णु बनाइयो भने, यसले सही नेतृत्व चयन गर्न सहयोग पुर्या्उनेछ र कञ्चनपुरलाई समृद्धि र सुशासनको बाटोमा अगाडि बढाउनेछ ।

यसैले, आजको आवश्यकता स्पष्ट छ—चिया पसलमा गफ मात्र होइन, जिम्मेवार संवाद गरौं। आफ्नो मत बनाउँदा तथ्य हेर्नु होस्, विचार राख्दा सम्मान राखौं र मतदान गर्दा विवेक प्रयोग गरौं । किनकि सानो चिया कपसँगै सुरु हुने गफगाफले नै ठूलो राजनीतिक परिवर्तनको आधार तयार गर्न सक्छ ।
सबै को जय होस् ।

(समसामयकि विषयमा कमल चलाउने पन्त अधिकारकर्मी हुन् ।)

Himal dental
सम्बन्धित
Loading...