ghar sansar

कञ्चनपुरमा अलपत्र सडक योजनाको ठेक्का तोडिँदै, सार्वजनिक सूचना निकालियो

khasi

महेन्द्रनगर । लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न सडक आयोजनाका ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।

पूर्वाधार विकास कार्यालय र डिभिजन सडक कार्यालय महेन्द्रनगरले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका सडको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेर ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।

Anant bahu travels

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले लामो समयदेखी अलपत्र रहेका सडक योजना सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्न लागेको जानकारी दिए ।

“हामीले पटकपटक ताकेता गर्दा समेत सम्पर्कमा नआएर सडक निर्माण अलपत्र पार्ने २५ सडक योजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका छौँ,” उनले भने, “पाँच÷सात वर्षदेखि अलपत्र रहेका सडक योजना काम हुने अवस्था नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।”

dirghayi clinic

पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७६–७७ देखि सुरु भएका धेरैजसो सडक आयोजनामा प्रगति न्यून छ । ठेक्का लिएका निर्माण व्यवसायीहरूले काममा ढिलासुस्ती गर्दै आएपछि स्थानीयवासीले समेत चर्को गुनासो गर्दै आएका थिए ।

त्यसैगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर २०७८–७९ मा सम्झौता भएर काम नभएका ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको कार्यालयका सूचना अधिकारी हरिप्रसाद जोशीले जानकारी दिए ।

कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गको अत्तरिया–गड्डाचौकी खण्डका विभिन्न स्थानमा सडक विस्तार गर्ने कैलालीको खुटिया पुल–उर्मा–भडा सडकको स्तरोन्नति गर्ने कार्य अलपत्र छ ।

ठेक्का सम्झौताअनुसार उक्त सडकको काम अलपत्र छाडी पटकपटक ताकेता गर्दा निर्माण कम्पनीले काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।

ठेक्का तोडिने सूचीमा अधिकांश ग्रामीण भेगका सडक परेका छन्। यी सडक नबन्दा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा निकै सास्ती खेप्नुपरेको छ ।

Himal dental
सम्बन्धित
Loading...