

महेन्द्रनगर । कञ्चनपुरमा दुई दिने ‘एजुकेशन एक्स्पो २०८३’ आयोजना हुने भएको छ । पश्चिमपाटी पत्रिकाको आयोजनामा जेठ ९ र १० गते महेन्द्रनगरमा एक्स्पो सञ्चालन हुन लागेको हो । बुधबार आयोजकले पत्रकार सम्मेलन गरी शैक्षिक मेला सञ्चालन हुने जानकारी दिएको छ ।
मेलाका संयोजक जगदीश चन्द्र भट्टले जिल्लाका विभिन्न विद्यालय, कलेज, विश्वविद्यालय, प्राविधिक शिक्षालय तथा शैक्षिक परामर्श संस्थाहरूको सहभागिता रहने उक्त शैक्षिक मेलाको मुख्य उद्देश्य विद्यार्थीहरूलाई अध्ययन, करियर र सीप विकाससम्बन्धी आवश्यक जानकारी प्रदान गर्ने रहेको बताए ।
कार्यक्रममा करियर काउन्सिलिङ, विद्यार्थी–अभिभावक प्यानल छलफल, छात्रवृत्ति तथा अध्ययन अवसरबारे जानकारीमूलक सत्र सञ्चालन गरिने संयोजक भट्टले जानकारी दिए ।

शिक्षाविद्, विशेषज्ञ र करियर काउन्सिलरहरूले विद्यार्थीलाई विषय छनोटदेखि भविष्यको योजना निर्माणसम्म परामर्श दिनेछन् ।
सुदूरपश्चिममा पछिल्लो समय बढ्दो शैक्षिक प्रतिस्पर्धा र विदेश अध्ययनप्रतिको आकर्षणबीच विद्यार्थीलाई सही मार्गदर्शन आवश्यक रहेको भन्दै पश्चिमपाटीले एक्स्पो आयोजना गर्न लागेको पश्चिम्पपाटी पत्रिकाका प्रतिनिधि महादेव अवस्थीले जानकारी दिए ।
आयोजकले यसलाई “शिक्षा, अवसर र सम्भावनाको साझा मञ्च” का रूपमा प्रस्तुत गरेको छ । आयोजकले विद्यालय, कलेज, विद्यार्थी, अभिभावकहरुमा मेला अवलोकन का लागि आग्रह गरेको छ । कञ्चनपुरमा शैक्षिक मेला पहिलो पटक हुन लागेको हो । मेलाको ५० हजारले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
मेला शैक्षिक प्रदर्शनीमा सीमित नहुने, बरु विद्यार्थीको भविष्य निर्माणसँग प्रत्यक्ष जोडिने ‘करियर प्लेटफर्म’का रूपमा विकास गर्दै लैजाने संयोजक भट्टले बताए ।

