

महेन्द्रनगर । गत सोमबार बिहान ५ बजेको समयमा दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको चक्कु प्रहारबाट हत्या भयो ।
श्रीमती यशोदासँगै एउटै घरमा बस्दै आएका सुनारको हत्यापछि प्रहरीले कुकुर परिचालन गर्दै विभिन्न चरणबाट अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका लागि प्रहरीले सोही दिन लीलारामका ३५ वर्षीय श्रीमती यशोदालाई नियन्त्रणमा लिएको थियो ।
यशोदामाथि सोधपुछ जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए । प्रारम्भिक बयानका क्रममा यशोदाले नै श्रीमान लीलारामको घाँटीमा चक्कु प्रहार गरी हत्या स्वीकार गरेको प्रहरी निरीक्षक थापाले बताए ।
दुई दशक पहिले वैवाहिक बन्धनमा बाँधिएका लीलाराम र यशोदा केही वर्ष दोधारास्थित घरमा सँगै बसे । विवाहको केही वर्षपछि रोजगारीका लागि लीलाराम भारत गए ।
श्रीमती यशोदाले पटक पटक सम्पर्क गर्न खोजे पनि उनी सम्पर्कमा नआएपछि सम्बन्ध विच्छेदका लागि कञ्चनपुर अदालतमा मुद्दा दर्ता गराएको सोधपुछका क्रममा खुल्नमा आएको प्रहरीले जनाएको छ ।
भारतमा रहेका लीलाराम विगत आठ÷नौ वर्षसम्म लगातार अदालतको सम्पर्कमा नआएपछि स्वतः अदालतले सम्बन्ध विच्छेद गराएको थियो । अदालतले श्रीमती, छोरी र लीलारामको अंशबन्डा गरेको थियो ।

भारतमा सवारी दुर्घटना परेर शारीरिक अस्वस्थ भएपछि घर फर्किएका लीलाराम केही समय दोधारास्थित आफन्तको घरमा बसेका हुन् ।
उनकी श्रीमती भने छोरीसँगै माइतमा बस्दै आउनुभएको थियो । कागजी रूपमा सम्बन्ध विच्छेद गरिए पनि साथमै बस्न छोरीले आमाबुवालाई आग्रह गरेपछि विगत तीन वर्षयता उनीहरू रकुनीटोलस्थित घरमा सँगै बस्दै आएका दोधारा चाँदनी नगरपालिका–५ का वडाध्यक्ष केशवबहादुर खत्रीले बताए ।
वडाध्यक्ष खत्रीले भारतमा सवारी दुर्घटनामा परेपछि लीलारामको उपचारका लागि १० हजार र उहाँकी छोरीको पढाइका लागि वडा कार्यालयबाट १० हजार रुपियाँ आर्थिक सहयोग पनि गरिएको बताए । आइतबार रातिदेखि नै श्रीमान श्रीमतीबिच चर्काे वादविवाद सुरु भएको खुल्नमा आएको प्रहरीले जनाएको छ ।
आइतबार राति ११ बजे सँगै सुत्नुभएका उनीहरूबिच सोमबार बिहान चर्काे विवाद सुरु भएको बयानबाट खुल्नमा आएको प्रहरी निरीक्षक थापाले बताए ।
आपसी विवादका क्रममा श्रीमती यशोदाले लीलारामको घाँटीमा चक्कु प्रहार गरेर इलाका प्रहरी कार्यालयमा मृत अवस्थामा फेला परेको भन्दै जानकारी गराएको प्रहरी निरीक्षक थापाले बताए ।
प्रहरी निरीक्षक थापाले भने, “लीलारामको हत्यामा यशोदाको मात्रै संलग्नता थियो या अरू पनि संलग्न रहेको छ भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।”
मदिरा सेवन गरेर रातदिन दुःख दिने गरेको भन्दै यशोदाले हत्या गरेको स्वीकारेको प्रहरी निरीक्षक थापाले बताए ।
घटनाको अनुसन्धानका लागि मृतकका छोरीलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

