

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ की मन्जु गुरुधामी अचेत साथीसङ्गी र छर छिमेकमा सानै उमेरमा विवाह अर्थात बाल विवाह गर्न नहुने भन्दै कुराकानी गर्छिन् ।
ब्याचलर अध्ययनरत धामीले गाउँका केही आफ्ना साथीले सानैमा विवाह गरेको देखेकी थिइन् । उनी आफू चाहिँ पढाई सकेर आफ्नो खुट्टामा उभिएपछि मात्रै विहे गर्ने सोचमा हुन्थ्यिन ।

पढाई छाडेर विवाह गरेको देख्दा धामीलाई त्यति बेला पनि सम्झाउन मन लाग्थ्यो । आफ्नो अरुलाई सम्झाउने बुझाउन नसक्ने उमेर नभएकाले उनमा अघि सर्न आँट आउने गरेको थिएन ।
समयसंगै उमेर बढ्दै गएपछि गुरुधामी आफ्नो वस्तीमा बाल ववाह रोक्न सक्रिय भएर लागेकी छन् । अहिले उनी बाल विवाह न्यूनीकरणका लागि हुने विभिन्न कार्यक्रममा समेत सहभागी हुने गर्छिन् । गाउँ वस्तीमा बाल बालबालिकालाई दैनिक जसो बाल विवाह विरुद्ध जानकारी गराउँछिन् ।
बाल विवाह विरुद्ध सामाजिक चेतना फैलाउन भीनपा ३ मा किशोरी प्रगति समूह बनाईएको छ । धामी त्यहीं समूहमा आवद्ध भएर बाल रोक्न अघि बढेकी छन् । बाल बालबालिकासंगै उनीहरुका अभिभावकलाई पनि उनी सचेत गराउँछिन् ।
अभिभावकले नजानेर, कमजोर आर्थिक अवस्था र गाउँ घरमा राम्रो केटाको लोभमा सानैमा छोरीको विवाह गरि दिने गरेको धामी बताउँछिन् ।
‘बाल विवाहमा पहिलो कुरा त अभिभावकको दिमाग नै पुग्दैन, दोस्रो कमजोर आर्थिक अवस्था भएर पनि हो, तेस्रो चाहिँ राम्रो केटा पायो कि अभिभावकले छोरीको विहे गरि हाल्छन्’ धामी भन्छिन् ।
गाउँ वस्तीमा बाल विवाह गर्न हुँदैन भनेर सम्झाउँदा अभिभावकले बुझेजस्तो गरी बिर्सने गरेको अनुभव धामी सुनाउँछिन् । बाल विवाह राम्रो होइन भनेर बुझि सकेपछि फेरि नबुझेको जस्तो व्यवहार देखाउने गरिएको उनको भनाई छ ।
‘हामी सम्झाउँछौ, बुझे जस्तो गर्छन्, राम्रो कुरा गर्छन्, खै किन हो, त्यसको एकछिनपछि फेरि त्यस्तै पुरानो व्यवहार देखाउँछन्’ उनी भन्छिन् ।
गाउँ वस्तीमा सबै एकजुट भएर अघि बढेका बाल विवाह रोक्न सकिनेमा धामी विश्वस्त छन् ।
धामीसंगै बाल विवाह रोक्न विवाहित महिलाले पनि साथ दिएका छन् । भीनपा ३ की गंगा धामी केही दिन अघि कालिका टोलस्थित नव दुर्गा कालिका आधारभूत विद्यालयमा बाल विवाह विरद्ध गरिएको देउवा कार्यक्रममा सहभागी भएकी थिइन् ।
तीन वर्ष अघि विवाह बन्धनमा बाँधिएकी धामीले देउडा कार्यक्रमबाट बाल विवाहका बेफाइदाबारे जानकारी पाएको बताइन् ।
‘बाल विवाह के, यसका फाइदा के हुन्छ, बेफाइदा के छन्, कानुनी व्यवस्था के छ, यो देउडाबाट थाह पायौ’ उनले भनिन्,‘गाउँ घरमा यस्ता कार्यक्रम हुँदा पनि समाजमा चेतना फैलिएर रोक्न सहयोग पुग्छ ।’
चुरे फेदमा पर्ने भीमदत्त नगरपालिका ३ तिलकपुरको कालिका टोल बाढी पीडित वस्तीमा पर्छ । जल वायु परिवर्तनका कारण केही वर्षदेखि बाढीको चपेटामा परेपछि वासिन्दाले आर्थिक समस्या झेल्नु परेको छ । आर्थिक अवस्था कमजोर भएपछि वासिन्दाहरु छोरीको सानैमा विवाह गर्न पर्ने अवस्थामा पुगेका छन् ।

केही महिना अघि टोलमा उमेर नपुगी अभिभावकले विवाह गर्न लागेको हल्ला फैलियो । किशोरी समूहका सदस्यले घरमा पुगेर जानकारी लिँदा १७ वर्षमा विवाहका लागि इन्गेजमेन्ट हुन लागेको खुल्यो । त्यसपछि विवाह रोक्न समूहका सदस्य भीमदत्त नगरपालिका पुगे । उनीहरुले नगरपालिका कार्यालयको महिला तथा बालबालिका शाखामा निवेदन दिए ।
कानुन विपरित विवाह हुन लागेकाले छानबिन गरी कारवाहीको माग गर्दै निवेदन दिइर्एको थियो ।
अभिभावकले मात्रै नभई बालिका आफैले आफैंले पनि राजीखुसी भएर विवाह गरेका भेटिएका छन् । विशेष गरी सामाजिक सञ्जालको सम्पर्कबाट सम्बन्धमा जोडिएर बाल विवाह भएका छन् ।
केही महिना अघि सामाजिक सञ्जालबाट सम्बन्ध बनेपछि दाङ्गकी एक किशोरी विवाह गरी महेन्द्रनगर पुगेकी थिइन् । सामाजिक सञ्जाल फेसकुक, ह्वाटसएप, टिवटर र टिकटकबाट बाल विवाहका घट्ना भएका छन् ।
तिकलपुरस्थित नव दुर्गा आधारभूत विद्यालयका कर्मचारी हर्क बहादुर बोहरा विगतको तुलनामा गाउँ वस्तीमा सानैमा उमेर गर्नेको संख्या घटेको बताए ।
‘पहिलाको तुलनामा निकै घटेको छ, अहिले पनि छिटफट हुन्छ, तर त्यो पहिला जस्तो छैन’ उनले भने,‘समाज पहिला भन्दा अहिले निकै अघि बढी सकेको छ ।’
उमेर नपुगी विवाह गर्दा दुबै जनालाई समस्या हुने भएकाले विवाह गर्न नहुने बोहरा बताउँछन् ।
‘उमेर नपु्ग्दै विवाह गर्न हुँदैन, दुबैलाई समस्या हुन्छ,’ बोहरा भन्छन्,‘पढेर लेखेर आफ्नो खुट्टामा उभिएर मात्रै विहे गरि दिनु पर्छ ।’
केटा केटी दुबैको उमेर २० वर्ष पु्गेपछि मात्रै विवाह गर्न पाउने कानुनी व्यवस्था छ । पेसवानका सामाजिक परिचालन सुलोचना परियार कानुनी व्यवस्था मिचेर कसैले पनि विवाह गर्न नपाउने बताउँछिन् ।
‘कानुन त सबैले पालना गर्न पर्ने हो, तर त्यसो हुन सकेको छैन ’ उनी भन्छिन्, ‘सामाजिक चेतना, कमजोर आर्थिक अवस्था, जल वायु परिवर्तन, कानुनको फितलो कार्यान्वयन लगायतका कारणले उमेर नपुग्दै विवाह हुन्छ ।’
सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायको आठौं सेमेष्टरमा अध्ययनरत परियार अहिले जल वायु परिवर्तमा पनि बाल विवाहको प्रमुख कारणका रुपमा देखिन थालेको सुनाइन् ।
‘सामाजिक चेतना र कमजोर अवस्था त बाल बालिकाका सधैंका कारण हुन्, पछिल्लो समय जल वायु परिवर्तनमा पनि यसको एउटा प्रमुख जस्तै कारण बनेको ’ उनी भन्छिन्, ‘बाढी पहिरो गयो, थातथलो हुँदैन, त्यसपछि त्यो परिवार कमजोर हुन थाल्छ, त्यसपछि छोरा छोरीको सानैमा विवाह गर्ने बाध्यता आइ हाल्छ’ उनी भन्छिन् ।
प्रभावकारी रुपमा कानुन कार्यान्वयन हुन सके बाल विवाह रोकिने उनी बताउँछिन् । उनी स्थानीय सरकारलाई विवाहको जानकारी दिने अनिवार्य व्यवस्था हुनु सके रोक्न सहयोग पुग्ने आशा राख्छिन् ।
‘स्थानीय सरकार यसमा खासै गम्भीर देखिदैनन्’ उनी भन्छिन्,‘अझै गम्भीर हुन सके रोक्न सकिनेमा दुई मत छैन ।’
नव दुर्गा कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक दल बहादुर धामी सामाजिक जनचेतना र वासिन्दाको आर्थिक अवस्था बलियो बनाएर बाल विवाह रोक्न सकिने बताउँछन् ।
‘बाल विवाह पहिलादेखि नै हो, यो जन चेतनाको कमीले हुन्छ, त्यस बाहेक कमजोर आर्थिक अवस्थाले पनि हुन्छ’ उनले भने,‘जनचेतना कार्यक्रम चलाएर यसलाई अन्त्य गर्न सकिन्छ, त्यस बाहेक अभिभावक र बालबालिका दुबैलाई ओरिन्टेशन दिनु आवश्यक छ ।’

