

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले नगरपालिकाबाट छिटो बाहिर निस्कने चाहना सार्वजनिक गरेका छन् ।
बोगटी २०७९ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएका हुन् । पाँच वर्षे कार्यकालको एक वर्ष अगावै मेयर बोगटीले पदीय जिम्मेवारीबाट बाहिरिन निस्कने चाहना राखेका छन् ।

सार्वजनिक कार्यक्रममा मेयर बोगटीले आफूले मेयरको पद छिटो जाओस भनेर चाहना राखेको खुलाएका हुन् । बोगटीले आफू बाँकी एक वर्षे कार्यकाल छिटो सकिने आश लिएका छन् ।
‘अझै एक वर्ष बाँकी छ, तर मलाई त पद चाँडै जाओस छ भन्ने छ’ महेन्द्रनगर नमूना माध्यमिक विद्यालय (साधारण स्कुल) को प्रयोगशाला भवन उद्घाटन कार्यक्रममा मेयर बोगटीले भने, ‘धेरै लोभ पनि गर्न हुँदैन, राजनीतिमा लोभ गर्नु हुँदैन, केही चिजमा लोभ गर्न हुँदैन, आफूले जुन हिस्सा पायो, त्यसमा कर्म गरेर जाने हो ।’
मेयर बोगटीले पदीय जिम्मेवारीबाट बाहिर निस्कने चाहना राखेपछि कार्यक्रमका सहभागीले कानेखुसी गरे । त्यस अघि भने सहभागीले उनको धारणमा ताली बजाएर समर्थन गरेका थिए ।

काँग्रेस कञ्चनपुरका सभापति बोगटी दोस्रो प्रयासमा भीमदत्तको मेयरमा निर्वाचित भएका हुन् । उनी कार्यकालको उत्तराद्र्धतिर छन् । २०७९ जेठ ९ गते बोगटीले पद तथा गोपियनताको शपथ खाएर पदभार ग्रहण गरेका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमाले नेता सुरेन्द्र विष्टसित पराजित भएका थिए । त्यसपछि दोस्रो प्रयासमा १५ हजार ८ सय ८२ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका थिए ।
भीमदत्त नगरपालिका कञ्चनपुरको सबैभन्दा पूरानो र सदरमुकामको नगरपालिका हो । मेयर बोगटी राजनीतिक घरानाका हु्न् । उनका बुबा तत्कालीन महेन्द्रनगर आदर्श गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए ।
बुवा प्रधानपञ्च भएर नेतृत्व गरेको पालिकामा उनी मेयर भएका हुन । बुवासंग विद्रोह गरी बोगटी काँग्रेस राजनीतिमा होमिएका हुन् । तर उनले परिवारभित्रैबाट पञ्चायत व्यवस्थाको विरोध गरेर प्रजातान्त्रिक आन्दोलनमा लागेका थिए ।
साधारण स्कुलको कार्यक्रममा मेयर बोगटीले जनताको सबैभन्दा नजिकको सरकारलाई सरकार नभनेर स्थानीय तह भन्ने गरिएको भन्दै असन्तुष्टि जनाए । उनले स्थानीय तहलाई अप्ठेरा काम मात्रै दिइएको गुनासो समेत गरे ।
मेयर बोगटीले राजनीति, शिक्षा, विकास बाहेक मानवीय जीवन सम्बन्धि पनि आफ्ना धारणा राखे । मान्छे भएर जन्मि सकेपछि समाजका लागि केही न केही गर्ने प्रयास गर्न पर्ने सुझाव मिान्छे भएर जन्मि सकेपछि समाजका लागि केही न केही गर्ने प्रयास गर्न पर्ने सुझाव दिए ।
‘यस कारणमा जीवनमा लगेर जानु केही पनि छैन। सकभर आफूबाट समाजलाई के दिन सकिन्छ भन्ने प्रयाुस गरि रहने हो’ मेयर बोगटीले भने ।

