
सुदूरपश्चिम विश्वविद्यालयमा फेरि बबाल, दीक्षान्त अगावै अदालतमा रिट


नारायण अवस्थी
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह हुन दुई दिन बाँकी रहँदा पदक वितरण सम्बन्धी विवाद अदालतसम्म पुगेको छ । विश्वविद्यालयले आफूलाई अन्याय गरेको आरोप लगाउँदै एक छात्राले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा रिट दायर गरेकी छन् ।
स्नातकोत्तर तह उत्तीर्ण छात्रा रेखा भट्टले सुदूरपश्चिम विश्वविद्यालय, इन्जिनियरिङ सङ्कायको डीन कार्यालय, स्कुल अफ इन्जिनियरिङ, परीक्षा नियन्त्रण कार्यालय तथा उपकुलपतिको कार्यालयलाई विपक्षी बनाउँदै रिट दर्ता गराएकी हुन् ।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका सूचना अधिकारी गणेशप्रसाद भट्टका अनुसार बुधबार दर्ता भएको रिटमाथि सोही दिन न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको छ । अदालतले विश्वविद्यालयले प्रकाशित गरेको पदकसम्बन्धी सूचना यथास्थितिमा राख्न आदेश दिँदै रिटकर्ता र विपक्षी पक्षलाई असार १२ गते छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ ।

विश्वविद्यालयले असार १२ गते छैटौँ दीक्षान्त समारोह आयोजना गर्दैछ । समारोहअघि पदक छनोट प्रक्रियामा आफूलाई अन्याय गरिएको दाबी गर्दै छात्रा भट्ट अदालत पुगेकी हुन् ।
विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असार १ गते चान्सलर, भाइस चान्सलर तथा स्वर्ण पदक प्राप्त गर्ने ११ जना विद्यार्थीको नामावली सार्वजनिक गरेको थियो । त्यसपछि असार १० गते संशोधित सूची प्रकाशित गर्दै थप चार विद्यार्थीलाई पदक प्राप्त गर्ने सूचीमा समावेश गरिएको थियो ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतले भने रिट दायर गर्ने छात्राले निर्धारित समयमा सोधप्रवन्ध अर्थात् थिसिस पेश नगरेकाले पदकका लागि योग्य ठहरिन नसकेको बताएका छन् । परीक्षा प्रकाशित भएको ९० दिनपछि मात्रै भट्टको शोधप्रवन्ध आएकाले प्रारम्भिक सूचीमा उनको नाम समावेश नगरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा दीक्षान्त समारोहका क्रममा पदक वितरणसम्बन्धी विवाद नयाँ भने होइन। विगतका दीक्षान्त समारोहहरूमा पनि यस्तै विषयमा विवाद सार्वजनिक हुँदै आएको थियो । यसपटक भने विवाद अदालतसम्म पुगेपछि विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक प्रक्रियामाथि पुनः प्रश्न उठेको छ ।
