

महेन्द्रनगर । बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गरेको भेटिएपछि महेन्द्रनगरका होटेल सञ्चालक कारबाहीमा परेका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले होटेल सञ्चालकमाथि कारबाही अघि बढाएको हो ।

टोलीले भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार, मदनचोक तथा वडा नं. ५ स्थित सुकासाललगायत क्षेत्रमा सञ्चालनमा रहेका १५ वटा होटेल, मिठाइ तथा नास्ता पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा महेन्द्रनगर बजारको गल्ली नं. १ मा सञ्चालित सिवानी स्विट हाउसले अखाद्य वस्तु बिक्री गरेको पाइएपछि उक्त पसललाई १५ दिनका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धर्मराज उपाध्यायले बताए । अनुगमनका क्रममा उक्त पसलमा राखिएको मिठाइमा किरा भेटिएपछि शिल गर्न परेको उनले जानकारी दिएका छन् ।
त्यसैगरी सुकासालस्थित ‘भाट जी’ फास्ट फुडमा कुखुराको मासुमा अत्यधिक कृत्रिम रङ मिसाइएको पाइएपछि उक्त खाद्य वस्तु नष्ट गरिएको उनले बताए ।
महेन्द्रनगर बजारको गल्ली नं. ५ स्थित गोपाल पाठक पसलको मिठाइमा कैफियत देखिएपछि नमुना परीक्षणका लागि पठाइएको छ ।
महेन्द्रनगरको मदनचोकमा सञ्चालित चाउमिन पसल, बर्गर हाउस लगायतका होटेलमा गरिएको अनुगमनका क्रममा टोलीले सरसफाइ र गुणस्तर कायम राख्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता थियो। नियमित अनुगमनअन्तर्गत आइतबार बजार क्षेत्रमा अनुगमन गरिएको जनाइएको छ ।

