
साउन २३ को पत्रकार सम्मेलनमा बोल्न छुटेका कुराले होटेल ओपेराबारे अस्पष्टता आएको भन्दै पत्रकार भण्डारीले पारे बुँदागत रुपमा स्पष्ट

महेन्द्रनगर । पत्रकार खेम भण्डारीले जेल मुक्त भएपछि गरेको पत्रकार सम्मेलनमा होटेल ओपेराबारे राखेको धारणाले अस्पष्टता आएको भन्दै स्पष्ट पारेका छन् ।
निर्मला पन्त प्रकरणमा गाली बेइज्जत मुद्दामा ३७ दिन कारागबार सजाय तोकिएका भण्डारी साउन २३ गते जेल मुक्त भएका थिए ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरको भवनमा पत्रकार सम्मेलन गरी भण्डारीले निर्मला प्रकरण र आफ्नो जेल बसाईबारे धारणा राखेका थिए ।
होटेल ओपेराले पत्रकार भण्डारीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सच्याउन आग्रह गर्दै विज्ञप्ति सार्वजनिक गरेको थियो ।

मंगलबार भण्डारीले सामाजिक सञ्जालबाट बुँदागत रुपमा लेखेर होटेल ओपेराबारे आएको अस्पष्टताबारे स्पष्ट पारेका हुन् ।
उनले आफूले बोल्ने क्रममा छुटेका बुँदाले आशय अनर्थ भएको अर्थ लगाएको भन्दै होटेललाई पुगेको आधघातप्रति माफी मागेका छन् ।
‘मैले बोल्दा छुटेका कुराले आसय नै अनर्थ भएको स्वीकार्दै ओपेरालाइ पुगेको आघातप्रति माफी चाहन्छु’ उनले भनेका छन्, ‘र, उपरोक्त कुरा भन्न छुट्दा आममानसमा परेको द्विविधा प्रति पनि क्षमा प्रार्थी छु ।’
सामाजिक सञ्जालबाट उनले बोल्न छुटाएका कारण आएको अस्पष्टतालाई सामाजिक सञ्जालमा ५ बुँदामा उल्लेख गरेका छन् ।

साउन २३ गते म जेलमुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा मैले होटेल ओपेरा बारे बोल्दा केही कुरा बोल्न छुटाएका कारण केही अस्पस्टता आएकोले प्रस्ट पारेको छु ।
१– मैले बोलेका कुरा बिगट ८ वर्षमा बिभिन्न स्रोतबाट प्राप्त भएका जानकारीमा आधारित हुन् । “यस्तो चित्र छ छानिबन हुनुपर्छ“ भन्न छुटाएको हुँ। ओपेरा दोशी छ भन्ने आसय होइन ।
२– ती कुराको उत्तर ओपेराले दिओस् भन्ने मात्रै मेरो आग्रह हो ।
३– होटेल ओपेराको सीसीटीभी हार्डडिस्कका फुटेज र इन्ट्री रेकर्ड सार्वजनिक भएमा धेरै कुरा खुल्नेमा म विश्वस्त छु भन्न खोजेको हुँ ।
४– मैले आरोप लगाएको होइन, निर्मला प्रकरणमा अनुसन्धान हुनु पर्छ भनेको हुँ ।
५– निस्पक्ष छान्बिनले घटनाको यथार्थ खुल्ने मेरो भनाइ हो ।
पत्रकार भण्डारीले लेखेको समाचारले आफ्नो गाली बेइज्जत भएको भन्दै कञ्चनपुर प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज डिल्लीराज विष्टका छोरा किरणले उनी विरुद्ध मुद्दा दिएका थिए ।
भण्डारीले पत्रकार सम्मेलनमा निर्मला प्रकरणपछि एक हजार भन्दा बढी समाचार स्टोरी लेखेको जानकारी गराएका थिए ।
निर्मला प्रकरण सम्बन्धि किताब लेख्ने भण्डारीको भनाई थियो ।

