
बैशाखा शिविरको जातीय विभेदमा घट्नामा मिलापत्र, पीडितलाई शनिबार मन्दिरमा पूजापाठ गर्न दिएर टिका लगाइने

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १ बैशाखा शिविरस्थित सिद्ध बैजनाथ मन्दिरमा दुई दिन अघि जातीय विभेद घट्नाको जाहेरी लिएर प्रहरी कार्यालय पुगेका पीडित र मन्दिर समितिबीच घट्नामा मिलापत्र गर्ने सहमति भएको छ ।
मन्दिरमा पूजापाठका लागि पुगेका स्थानीय मोहन दमाईले टिका लगाउन आग्रह गर्दा उनलाई पातमा टिका दिइएपछि विवाद भएको थियो । त्यसपछि दमाईले मन्दिरमा भएका अन्य जस्तै आफूलाई पनि टिका लगाउन पर्ने बताएपछि उनीमाथि गालीगलौज र कुटपिटको प्रयास गरिएको थियो ।
दमाइ सार्वजनिक स्थानमा आफूमाथि जातीय विभेद गरिएको भन्दै शुक्रबार इलाका प्रहरी कार्यालय झलारीमा मन्दिर समितिका पदाधिकारी सहितका नाममा जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिए ।
इलाका प्रहरी कार्यालय झलारीले सुरुमा जाहेरी दर्ता नमानेपछि केही समय विवाद भएको थियो । पीडित सहित दलित समुदायका अगुवाले जाहेरी दर्ता गर्न दबाव दिएपछि प्रहरी तयारीमा लागेको थियो ।

त्यस अघि दुबै पक्षबीच प्रहरी कार्यालय बाहिर छलफल भएको थियो । त्यहीं छलफलमा दुबै पक्षबीच शनिबार दमाईलाई मन्दिरमा पूजापाठ गर्न दिइने र टिका लगाइने सहमति भएको अधिकारकर्मी शिबी लुहारले बताए ।
ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त लगायतका अधिकारकर्मीले जाहेरी दर्ता गर्न प्रहरी कार्यालय पुगेका थिए । ज्योतिषाचार्य पण्डित पन्तले प्रहरीले जसरी पनि जाहेरी दर्ता कानुनी प्रक्रिया थालनु पर्ने बताएका थिए ।
मन्दिरमा दमाई र अर्को पक्षबीच भएको भिडियो सामाजिक सञ्जालमा आएको छ । भिडियोमा केही स्थानीयले दमाईलाई कुटपिट गर्न खोजेको दृष्य देखिन्छ । स्थानीय महिलाले समेत दमाईलाई हप्काएका छन् ।
दमाईले विभेद भएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले सुदूरपश्चिममा यस्तै छ भन्दै उनलाई घर पठाएर मन्दिरमा पूजापाठ गराएको थियो ।
टिका लगाउन आफूले आग्रह गरेपछि समितिका सदस्यहरु गालीगलौज गदैृ आफूलाई कुटपिट गर्नसम्म आएको खोजेको दमाईले बताए ।
