
निधारमा लगाई दिनु भन्दा परैबाटै जसलाई दिइएको थियो पातमा राखेर टिका, उसैलाई मन्दिरभित्र लगेर गरियो पूजापाठ, अनि पुजारी आफैंले लगाई दिए टिका

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १ बैशाखा शिविरका मोहन दमाई बुधबार पूजापाठका सामाग्री र भेट्री लिएर घर नजिक मन्दिर पुगे । मन्दिर पुगेपछि उनले पुजारीलाई सबै पूजा सामाग्री र भेटी दिए । नगद सहित ती सबै सामाग्री मन्दिरभित्र राखियो ।
दमाईले आफूलाई टिका लगाई दिन पुजारीलाई आग्रह गरे । उनलाई पातमा टिका राखेर दिइयो । दमाईले पातमा नभएर अरुलाई जस्तै आफूलाई पनि टिका लगाउन आग्रह गरे । पुजारीले अरु सबैलाई टिका लगाई रहेका थिए ।
पुजारी लगायतले टिका लगाउन नपाइने भन्ने जवाफ दिएपछि दमाईले त्यसको कारण सोधे । त्यसपछि मन्दिर समिति र अन्यले दमाईलाई गाली गलौज र हातपात प्रयास गरे ।
सामाजिक सञ्जालमा आएको भिडियोमा एक स्थानीय दमाईलाई कुटपिट गर्न गएको दृष्य देखिन्छ । केही महिलाले उनलाई रोकेर पछाडि लगेका छन् ।
दमाईले मन्दिरमा आफूलाई टिका लगाउन अस्वीकार गर्दै जातीय विभेद गरेको भन्दै तत्काल प्रहरीलाई खबर गरे । केही समयपछि पुगेका प्रहरीले सुदूरपश्चिममा यस्तै छ भनेर दमाईलाई घर पठाएर मन्दिरमा पूजापाठ गर्न लगाए ।
दमाईले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ्गसित जातीय विभेद गरिएकाले कारवाहीका लागि याचना गरेको भिडियो सोही साँझ सामाजिक सञ्जालबाट याचना गरे ।
२१ आंै शताब्दीमा पनि जातीय विभेदका आधारमा सार्वजनिक स्थानमा टिका लगाउन अस्वीकार गरेको भन्दै दमाईले कारवाहीको माग गरेका थिए ।
शुक्रबार दमाई मन्दिरका पूजारी सहित मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरु विरुद्ध जातीय विभेदमा जाहेरी लिएर इलाका प्रहरी कार्यालय झलारी पुगे ।
ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त लगायतका अधिकारकर्मी सहितको टोली दमाईसंगै प्रहरी कार्यालय पुगेको थियो ।
इलाका प्रहरी कार्यालयले सुरुमा जाहेरी दर्तामा चासो देखाएन । ज्योतिषाचार्य पण्डित पन्त सहितले जसरी पनि जाहेरी दर्ता कानुनी कारवाही हुनु पर्ने दबाव दिए ।

प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि कुराकानी भइ रहेका बेलामा मन्दिर समितिका पदाधिकारी सहित बाहिर छलफल भयो ।
छलफलमा दमाईलाई मन्दिरमा पूजापाठ गर्न दिइने र टिका लगाई दिने सहमति भयो । दुबै पक्ष सहमत भएपछि शनिबार विहान विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थितिमा कार्यक्रम गर्ने सहमति गरियो ।
इलाका प्रहरी कार्यालय पुगेपछि सहमति गरिएको घट्नामा भएको सहमति अनुसार शनिबार दमाईले मन्दिर प्रवेश गरी पूजापाठ गरेका छन् । पूजापाठपछि उनलाई टिका लगाइएको छ ।
ज्योतिषाचार्य पण्डित पन्त मन्दिरमा दमाईमाथि भएको घट्ना अमानवीय भएको बताए ।
‘हिन्दू धर्ममा यस्तो कही पनि छैन, मन्दिरमा टिका लगाउन नहुने, पूजापाठ गर्न नदिने भन्ने कुनै पनि हिन्दू धर्मका शास्त्रमा छैन’ उनले भने ।
मन्दिर समितिका अध्यक्ष सहित पदाधिकारी र पुजारी सबै कार्यक्रममा सहभागी भए । मन्दिर व्यवस्थापन समितिका अध्यक्षले सबै मन्दिरमा आएर पूजापाठ गर्न पाउने बताए ।
शुक्लाफाँटा नगरपालिका नगर कार्यपालिका सदस्य गणेश बिकले जातीय विभेद तथा छुवाछुत हट्न पर्ने आवश्यकता उल्लेख गरे ।
पीडित दमाईले संविधानमा सार्वजनिक स्थानमा जातीय विभेद तथा छुवाछुत गर्न नपाउने व्यवस्था भएकाले आफूले आवाज उठाएको बताए ।
सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षमा मन्दिर बनाउनका लागि १० लाख बजेट दिएको थियो ।
पूजापाठ कार्यक्रममा वडा अध्यक्ष उत्तरदेब भट्ट लगायतका विभिन्न क्षेत्रका अगुवालाई आमन्त्रण गरिएको थियो ।
वडा अध्यक्ष भट्ट कार्यक्रममा सहभागी अनुपस्थिति भएको सहभागीले बताए ।
