

भुवन भट्ट
महेन्द्रनगर । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात छ । दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय सुनील खत्री महाकाली नदीमा हाम फालेर बेपत्ता भएका थिए ।
रोजगारीका सिलसिलामा भारतको दिल्लीमा रहेका खत्रीले गत शुक्रबार दिउँसो भारततर्फ रहेको पुलको डिलबाट महाकाली नदीमा हाम फालेका थिए । नदीमा हाम फाल्नुअघि भारतीय स्थानीयवासीले उनलाई पटक–पटक पुलको डिलबाट फर्किन आग्रह गरे पनि केही समयपछि नदीमा हाम फालेर बेपत्ता भएका थिए ।
गत मङ्सिरमा विवाह गरेका खत्री विवाहको एक महिनापछि रोजगारीका लागि भारत गएको परिवारका सदस्यले बताएका छन्। बेपत्ता खत्रीकी दिदी दीपा धामीले वैवाहिक सम्बन्धमा आएको तनाव र श्रीमतीसँगको मनमुटावका कारण भाइले पीडा सहन नसकेर यस्तो अवस्था आएको हुन सक्ने बताइन् ।
बेपत्ता खत्रीका परिवारका सदस्यले उनकी श्रीमती विमला भाट खत्रीमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।
बेपत्ता खत्री र उनकी श्रीमती विमलाबिचको टेलिफोन संवाद तथा सम्बन्धमा आएको खटपट सम्बन्धी विषय सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको भन्दै परिवारले विमलामाथि कानुनी कारबाहीको माग गरेको हो ।
प्रहरी कार्यालयमा विमलाविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले दर्ता गर्न नमानेको बेपत्ता खत्रीकी बुहारी सपना शाह खत्रीले गुनासो गरिन् । लगातार तीन दिनदेखि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन गए पनि प्रहरीले दर्ता गर्न नमानेको उनको भनाइ छ ।

एकातिर जिल्ला प्रहरी कार्यालयले बेपत्ता खत्रीको खोजी कार्यसमेत स्थगित गरेको र अर्कोतिर जाहेरीसमेत दर्ता गर्न नमानेपछि आफूहरूलाई झनै पीडा थपिएको सपना शाहले बताइन् ।
बेपत्ता खत्रीकी श्रीमती विमला जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी जवान पदमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरेश सिंहले बताए ।
“जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जे–जस्तो प्रक्रिया अगाडि बढाउनेछ, सोहीअनुसार हामी कारबाही प्रक्रियामा सहयोग गर्नेछौँ,” उनले भने ।
कञ्चनपुर प्रहरी कार्यालयको पत्रको प्रतिक्षामा रहेको उनले बताए । तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने बेपत्ता खत्रीको अवस्था अझै अज्ञात रहेकाले तत्काल जाहेरी दर्ता गर्न नमिल्ने जनाएको छ।
बेपत्ता युवकको खोजी गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए । अवस्था अज्ञात रहेपछि हाल खोजी कार्यसमेत स्थगित गरिएको उनको भनाइ छ।
प्रहरीसँग आवश्यक खोजी सामग्रीको अभाव भएकाले नदी किनारका क्षेत्रमा खोजी गरिए पनि खत्रीलाई फेला पार्न नसकिएको गिरीले बताए । अर्कोतर्फ, खत्री भारततर्फको भूभागमा बेपत्ता भएकाले कानुनी प्रक्रिया अघि बढाउन कठिनाइ भएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी तथा विपद् उद्धार टोलीले लगातार चार दिनसम्म युवकको खोजी गरे पनि फेला पार्न नसकेको जनाइएको छ ।
स्थानीयवासीले भने खत्रीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउँदै उनकी श्रीमती विमलामाथि कानुनी कारबाही प्रक्रिया अघि नबढाइए न्यायका लागि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
