

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा प्राथमिक तहका शिक्षक बाल विकास केन्द्र सरुवा भएका छन् । भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले केही दिन अघि दरबन्दी मिलान भन्दै विभिन्न विद्यालयका शिक्षक सरुवा गरेको छ ।
नगर शिक्षा समितिको निर्णय अझैसम्म बाहिर ल्याइएको छैन । समितिको निर्णय अनुसार सरुवा गरिएका शिक्षकलाई शिक्षा शाखामा बोलाएर पदस्थापन पत्र थमाईएको छ ।
बैशाख १० गतेको शिक्षक दरबन्दी मिलान विवादमा तानिएपछि फेरि साउनमा अर्को दरबन्दी मिलान गरिएको बताइन्छ ।
यस पटक झन विवादित हुने गरी दरबन्दी मिलानका लागि शिक्षक सरुवा गरिएको गुनासा बाहिर आउन थालेका छन् ।
प्राथमिक तहका शिक्षक गणेश पाण्डेयलाई भीमदत्त नगरपालिका १७ स्थित भगवती बाल विकास केन्द्रमा सरुवा गरिएको छ ।
पाण्डेयले सरुवा पदस्थापन पत्र बुझि सकेका छन् । उनी भीमदत्त नगरपालिका १९ बागफाँटास्थित सिद्धनाथ आधारभूत विद्यालयमा बाल विकास केन्द्र पठाइएका हुन् ।
बाल विकास केन्द्रमा कक्षा १ सञ्चालन गर्ने निर्णय गरी पाण्डेयलाई सरुवा गरिएको छ ।
भीमदत्त नगरपालिकाको १७ नम्बर वडामा अहिलेसम्म सामुदायिक विद्यालय छैन । अन्य सबै १८ वडामा आधारभूत र माध्यमिक तहका विद्यालय छन् ।
सामुदायिक विद्यालय नभएपछि नगरपालिकाले १७ नम्बर वडामा बाल विकास केन्द्रमा व्यवस्थित बनाएको थियो ।
महाकाली सिँचाई नहरको पूर्णा माध्यमिक विद्यालय ऐरी जाने पिपल चौतारा नजिक सरकारी जमिनमा बाल बिकास केन्द्र बनेको छ ।

नगर शिक्षा समितिले शैक्षिक सत्र सुरु भएको चार महिनापछि बाल विकास केन्द्रमा कक्षा सञ्चालन गर्ने अनुमति दिएर शिक्षक पठाएको छ ।
बाल विकास सरुवा गरिएका शिक्षक पाण्डेयले आफूलाई बाल विकास केन्द्र पठाएको बताए ।
‘मलाई त्यहाँ बाल विकास केन्द्र पठाएको छ, यसमा मैले भन्नु केही छैन, जहाँ पठाए पनि नपठाए पनि केही छैन’ सोमबार भीमदत्त नगरपालिका कार्यालयमा भेटिएका शिक्षक पाण्डेयले भने ।
भीमदत्तमा सामाजिक विकास समितिका संयोजक सुशिल भट्ट नेतृत्वको दरबन्दी मिलान सिफारिश कार्यदलले शिक्षक सरुवा गरेको हो ।
समितिमा नगर शिक्षा समिति सदस्य डबल बहादुर विष्ट, नेपाल शिक्षक महासंघका अध्यक्ष निर्मला जोशी र शिक्षक महासंघ नगर अध्यक्ष दिवाकर जोशी सदस्य छन् ।
शिक्षा शाखाका अधिकृत दिपेन्द्र विष्ट समितिको सदस्य सचिव छन् । नगर शिक्षा समितिमा मेयर पदम बोगटी अध्यक्ष छन् ।
यस पटक ६० भन्दा बढी शिक्षक सरुवा गरिएको बताइएको छ । यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
सरुवा गरिएकामध्ये चार पाँच जना बाहेक अन्य सबैले पदस्थापन पत्र बुझेर लगि सकेका छन् ।
महेन्द्रनगर बजार बाहिरका विभिन्न विद्यालयका शिक्षकलाई सदरमुकामका ठूला विद्यालयमा सरुवा गरी ल्याईएको बाहिर आएको छ ।
भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले आफूलाई यस पटकको दरबन्दी मिलानबारे जानकारी नभएको बताइन् ।
नगरपालिका स्रोतका अनुसार बैशाख १० गते दरबन्दी मिलानमा पदस्थापन गरिएका शिक्षकहरु पनि फेरि सरुवा गरिएका छन् ।
शिक्षा सम्बन्धि ऐनले शैक्षिक सत्र सुरु भएपछि विद्यालय सञ्चालन अनुमति दिने व्यवस्था गरेको छैन । ऐन अनुसार नयाँ कक्षा सञ्चालनका लागि शैक्षिक सत्र सुरु हुन अघि नै अनुमति लिई सक्नु पर्ने छ ।
