

महेन्द्रनगर । जनज्योति बहुमुखी क्याम्पसले स्थापनाको २५ वर्ष पूरा गरी रजत जयन्ति विशेष समारोह गरेको छ । शिक्षा, संस्कार, सामाजिक उत्तरदायित्व र गुणस्तरीय उच्च शिक्षा अध्यापनका लागि २५वर्ष अघि कलेज स्थापना गरिएको थियो ।
जन ज्योति एजुकेसनल फाउन्डेसन लिमिटेडका सञ्चालक समिति अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षतामा समारोह गरिएको छ । समारोहमा सञ्चालक समिति सदस्यद्वय डा. शंकर दत्त भट्ट र नवराज जोशी, कम्पनी सचिव तथा क्याम्पस प्रमुख प्रकाश दत्त जोशी, लेखा समिति संयोजक प्रजापति नेगी तथा सदस्यद्वय अम्बा दत्त जोशी र सुरेशचन्द्र भट्ट सहभागी भए ।
यसैगरी सह प्राध्यापक डा. हरि प्रसाद खतिवडा, बाबुराम रावत, प्रिन्सिपल सुरेन्द्र राज जोशी लगायत शिक्षक तथा प्राध्यापकहरू, प्रशासन प्रमुख भरतराज जोशी, लेखा अधिकृत रामदत्त जोशी पनि सहभागी भएका छन् ।
कम्पनी सचिव तथा क्याम्पस प्रमुख जोशीले कार्यक्रम सञ्चालन गरे । जोशीले क्याम्पसको प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउँदै संस्थालाई थप व्यवस्थित, गतिशिल र विद्यार्थीमैत्री बनाउने अभियानमा भूमिका निर्वाह गर्दै आएका छन् ।
स्थापना कालदेखि विभिन्न आरोह–अवरोह पार गर्दै २५औँ वर्षसम्म आइपुगेको क्याम्पसको यात्रामा वर्तमान एवं स्थापनाकालका शेयरधनी, विगतका सञ्चालक समिति, क्याम्पसको नेतृत्व समालेका महानुभाव, कर्मचारी बर्ग, प्रत्यक्ष एवं अप्रत्यक्ष क्याम्पस को वृद्धि बिकासमा सहयोग पुर्याउने सबैको सक्रिय योगदानलाई समारोहमा विशेष रूपमा स्मरण गरिएको छ ।
समारोहमा लेखा समिति संयोजक नेगीले स्वागत मन्तव्य राखे । कार्यक्रममा सहप्राध्यापक डा. हरि प्रसाद खतिवडाले शुभकामना दिए ।
खतिवडा २०५८ देखि निरन्तर क्याम्पसमा प्राध्यापन गर्दै आएका छन् । डा. खतिवडाको लामो शैक्षिक सेवायात्रालाई समेत यस अवसरमा विशेष रूपमा स्मरण गरिएको छ ।
समारोहमा क्याम्पसका सबै भन्दा ज्येष्ठ विद्यार्थी ६५ वर्षिय प्रेम बहादुुर थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कैलालीको चुरे गाउँपालिकाका थापा स्नातक तहमा अध्ययनरत छन् ।

स्थापना दिवसका अवसरमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूको सहभागितामा विद्यार्थीमैत्री हाजिरीजवाफ प्रतियोगिता, कविता प्रतियोगिता तथा निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई समारोहका बीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो ।
कार्यक्रमले विद्यार्थीको अतिरिक्त क्षमता, सिर्जनात्मकता, बौद्धिक विकास तथा प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गर्नुका साथै क्याम्पसलाई केवल पाठ्यक्रममा सीमित नभई ज्ञान, सिर्जना, प्रतिभा र सामाजिक चेतनाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
सामाजिक उत्तरदायित्वलाई निरन्तरता जनज्योति बहुमुखी क्याम्पसले स्थापना दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व अभिव्यक्त गर्ने अवसरका रूपमा समेत उपयोग गर्दै आएको छ।
विगतका वर्षदेखि निरन्तर रूपमा प्रदान गर्दै आएको सहयोगलाई यस वर्ष पनि निरन्तरता दिँदै समाज कल्याण अञ्चल अनाथालय, महेन्द्रनगरका पदाधिकारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएका छ ।
सामाजिक सेवाको यो निरन्तरताले जनज्योति बहुमुखी क्याम्पस शिक्षा प्रदान गर्ने संस्थामात्र नभई समाजप्रति उत्तरदायी शैक्षिक संस्थाका रूपमा समेत आफ्नो पहिचान स्थापित गर्दै गएको सन्देश दिएको छ ।
२५ वर्षको यात्रा, आगामी यात्राको प्रतिबद्धता २५ वर्षको यात्रा जनज्योति बहुमुखी क्याम्पसका लागि केवल समयको गणना नभई संघर्ष, समर्पण, विश्वास, निरन्तरता र उपलब्धिको गौरवपूर्ण इतिहास हो ।
यस अवधिमा क्याम्पसले हजारौँ विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै उनीहरूको शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणमा योगदान पु¥याउँदै आएको छ ।
स्थापना दिवस समारोहले विगतका उपलब्धिलाई स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय, प्रविधिमैत्री, अनुशासित, अनुसन्धानमुखी तथा विद्यार्थीकेन्द्रित शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याम्पस प्रमुख तथा कम्पनी सचिव प्रकाश दत्त जोशीको सक्रिय समन्वय र नेतृत्वमा शैक्षिक गुणस्तर, प्रशासनिक व्यवस्थापन, विद्यार्थीमैत्री गतिविधि तथा सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउँदै जनज्योति बहुमुखी क्याम्पसलाई आगामी दिनमा अझ उन्नत र प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
२५ वर्षको गौरवपूर्ण यात्रा पूरा गरेको जनज्योति बहुमुखी क्याम्पसले अबको यात्रालाई अझ गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति निर्माण र सामाजिक सेवासँग जोड्दै नयाँ उचाइतर्फ अघि बढाउने संकल्पसहित आफ्नो रजत जयन्ति मनाएको छ।
