

महेन्द्रनगर । बाणी सब डिभिजन वन कार्यालयका प्रमुख भरत प्रसाद साह धौलेपानीमा काटिएको काठ घाटगद्दीका लागि दिपेन्द्र स्मृति सामुदायिक वनलाई निर्देशन दिएर बिदा बसेको खुलेको छ ।
कैलाली वन डिभिजनले कंचनपुर वनलाई जानकारी नदिई क्षेत्राधिकार बाहिर गएर कृष्णपुर ४ मा पर्ने धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट काठ कटान गर्न लगाएको थियो ।
धौलेपानीमा काटिएको काठ साउन १५ दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दी गर्न ल्याएपछि डिभिजन वन कार्यालय कंचनपुर र बाणी सब डिभिजनजा निमित्त प्रमुख नेतृत्वको टोलीले बरामद गरेको थियो ।
काठ बरामद भएपछि बाणी सब डिभिजन प्रमुख साहको मौखिक निर्देशनमा घाटगद्दीका लागि ल्याएको खुलेको थियो ।
साह काठ बरामदको अघिल्लो दिन साउन १४ गते बिदा बसेको पाइएको छ । उनले साउन १३ गते डिभिजन वन कार्यालयमा २२ गतेसम्मका लागि घर बिदाको पत्र पठाएका थिए ।
बिदा सकिएपछि साहले साउन २५ गते अस्पताल जाने भन्दै वन कार्यालयमा जानकारी गराएको प्रशासन शाखाका कर्मचारी बताउँछन् ।
दिपेन्द्र स्मृति सामुदायिक वनले साहको मौखिक निर्देशनमा काठलाई घाटगद्दी राख्न दिएको बिज्ञप्ति निकालेर सार्वजनिक गरि सकेको छ ।
बाणी सब डिभिजन प्रमुख साहले नियम मिचेर घाटगद्दीका लागि निर्देशन दिएको प्रष्ट देखिएको छ । वन ऐन अनुसार कटान गरिएको काठ सम्बन्धित वन डिभिजन कार्यालयको सहमतिमा सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयको अनुमति लिएर जेठ महिनाभित्रै घाटगद्दी गर्न सकिने हुन्छ । साउन महिनामा घाट गर्न हुने कुनै कानुनी व्यवस्था नभएको वन अधिकारीहरु बताउँछन् ।
बाणी सब डिभिजन प्रमुख साह आफूले घाटगद्दीका लागि निर्देशन नदिएको बताउँछन् ।
बिरामी भए पछि बिदा बसेको उनले बताए । धौलेपानी काठ कटान सम्बन्धि सबैलाई जानकारी भएको बताउँदै उनले अन्य जानकारी चाहिएमा क्षेत्रीय वन निर्देशनालयबाट लिन पर्ने बताए ।
काठ कटान गरिएको वन साहको क्षेत्रमा पर्छ । बाणी सब डिभिजन अन्तर्गत कृष्णपुर नगरपालिकाका १ देखि ५ वडा छ्न । साह दुई बर्षदेखि बाणी सब डिभिजन प्रमुख छन् ।

साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्वाहीमा परेका वन अधिकृत हुन । सुदूरपश्चिमको उच्च राजनीतिक तह र वन अधिकारीसम्म पहुँच बनाएर उनी बलियो भएको वन कर्मचारीहरु बताउँछन् ।
उच्च तहसम्म पहुँचका कारण विदा बसेर उनले काठ कटानबाट बच्न खोजेका छन् । क्षेत्रीय वन निर्देशनालयले काठ अनुसन्धान जिम्मा दिन सक्ने भएकाले पनि साह बिदा बसेको बताइन्छ । यस अघि साहले अन्य मुद्दामा अनुसन्धानको जिम्मा लिँदै आएका थिए ।
बिदा सकिएर कार्यालय फर्किएका उनी बिरामी भएको भन्दै अधिकाङ्श समय निवासमा बस्ने गरेका छन् । कञ्चनपुर डिभिजन कार्यालयले अहिलेसम्म साहलाई काठ कटानी सम्बन्धि सोध्न सकेको छैन ।
डिभिजन प्रमुख लक्ष्मी राज जोशीले अनुसन्धान टीमले साहसित सबै कुरा सोधेको बताए ।
साउनमा काठ घाटगद्दीका लागि निर्देशन दिएको बाहिर आउदासम्म साहलाई स्पष्टीकरण समेत सोध्न किन नसकिएको प्रश्नको जवाफमा डिभिजन प्रमुख जोशीले व्यवहारिक रुपमा गरेको हुन सक्ने बताए ।
वन कर्मचारीहरुको साहको शक्ति र पहुँचका कारण जोशीले स्पष्टीकरण सोध्न सक्ने अवस्था नभएको बताउँछन् ।
‘वहाँ कति बलियो हुनु हुन्छ भन्ने त यसैबाट पनि थाह हुन्छ, काठ ल्याएर घाटगद्दी गर्न लगाउछ्न, आफू चाहि बिदा बस्छ्न, अनि काठ समातिएको सात दिन पछि आउछ्न, कंचनपुर डिभिजन प्रमुखले तपाइको क्षेत्रमा कसरी यति काठ काटियो भनेर सोध्न समेत सक्दैन’ डिभिजन वनका एक अधिकारीले भने, ‘अनि सोध्न कुरा हुनै सक्दैन ।’
सुदूरपश्चिम वन निर्देशनालयले कंचनपुरका वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टको संयोजकत्वमा अनुसन्धान समिति बनाएको थियो ।
समितिले साउन २२ गते प्रतिवेदन बुझाएको थियो । वन निर्देशनालयले प्रतिवेदन दराजमा राखेर काठ कटान प्रकरणलाई वेवास्ता गरेको देखिएको छ ।
कृष्णपुर ४ का युवाले मंगलबार बाणी सब डिभिजन प्रमुख साहलाई कटान रोक्न केही गर्न नसकेको र काठ बरामद भएपछि कटान भएको ठाउ सम्म जान नसकेको भन्दै कार्यकक्षमा आक्रोश पोखेका छन् ।
वरिष्ठ वन अधिकृत भट्टले बुझाएको प्रतिवेदन सार्वजनिक हुनु पर्ने माग गर्दै युवा बाणी डिभिजन कार्यालय पुगेका थिए ।
उनीहरूले बाणी सब डिभिजन वन कार्यालय र कार्यालय प्रमुख साहको निवासमा तालाबन्दी गरेका छन् ।
डिभिजन वन कार्यालय कैलालीले धनगढीको जलपा समिललाई चैत २९ गते ठेक्का दिएर काठ काट्न लगाएको थियो ।
वनले मिललाई ८ हजार क्यूफिट काठ काट्न अनुमति दिएकोमा ६६ रुख काटिएको वताइएको छ । ती रुखका २ सय १६ गोलिया बरामद भएका हुन । एक सय आठ गोलिया वन क्षेत्रमा छाडिएको बताइएको छ ।
वरिष्ठ वनअधिकृत भट्टले कैलाली वन कार्यालयले क्षेत्राधिकार मिचेर काठ कटान गरेकाले संलग्न सबैलाई कार्वाहीको सिफारिस गरेको बताइन्छ ।
भट्टले प्रतिवेदन बुझाए पछि वन प्रशासन भित्र हल्ल्लीखल्ली मच्चिएको थियो ।
