

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमी सहित निजी विद्यालयका संगठनले भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गरेका छन् । लिटिल बुद्ध एकेडेमी, एन प्याब्सन र हिसानले ८ लाख २५ हजार नगद सहयोग गरेका छन् ।
लिटिल बुद्ध एकेडेमीले सात लाख ५० हजार, एन प्याब्सन ५० हजार र हिसानले २५ हजार सहयोग गरेका हुन् । विद्यालयबाट गरिएको सहयोगमा विद्यालयको तीन लाख ५३ हजार, शिक्षक कर्मचारी दुई लाख ४४ हजार र विद्यार्थीले दुई लाख २७ हजार दुई सय ४० रुपैँया सहयोग गरेका हुन् ।

लिटिल बुद्ध एकेडेमीमा बुधबार सहयोग गरिएको सम्बन्धि जानकारी दिइएको छ । लिटिल बुद्ध एकेडेमी, एन प्याब्सन र हिसानको नाममा सहयोग रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले यस अघि एक लाख सहयोग गरेका थिए । एकजुट होऔ, सहयोग गरौ र आशा जगाऔ भन्ने सन्देश सहित सहयोग संकलन गरिएको छ ।
‘ भोटेकोशी बाढीमा दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं साथै बेपत्ताहरूको यथाशीघ्र खोजी तथा सकुशल उद्धारको हार्दिक कामना गर्दछौं । सहयोग गर्नु हुने सबैमा विद्यालय हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ’ विद्यालयले भनेको छ ।

