

महेन्द्रनगर । कैलाली वन डिभिजनले क्षेत्राधिकार मिचेर कञ्चनपुरको धौलेपानी राष्ट्रिय वन क्षेत्रमा गरिएको काठ कटान अनुसन्धानका लागि गठन गरिएको छानबिन समितिका संयोजक बाल मुकुन्द भट्टको काज फिर्ता भएको छ ।
धौलेपानी वन क्षेत्रबाट काटिएको काठ कृष्णपुर नगरपालिका १ बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा ल्याएपछि बरामद भएको थियो । त्यसपछि सुदूरपश्चिम वन निर्देशनालयले कञ्चनपुर वन डिभिजनमा कार्यरत वरिष्ठ वन अधिकृत भट्टको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
भट्ट नेतृत्वको समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो । भट्टले काठ कटान गरिएको धौलेपानी वन क्षेत्रमा पुगेर स्थलगत अध्ययन गरी साउन २२ गते निर्देशनालयलाई प्रतिवेदन बुझाएको थियो ।
भट्टले प्रतिवेदन बुझाएको तीन सातापछि उनको काज सरुवा गरिएको छ । काज फिर्तापछि उनी बैतडी वन डिभिजन हाजिर भएका छन् । उनी बैतडीमा चार महिना अघि काजमा कञ्चनपुर आएका थिए ।
भट्टले बुझाएको प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन । कृष्णपुर नगरपालिका ४ का युवाले मंगलबार प्रतिवेदन सार्वजनिक गरी संलग्नलाई कारवाहीको माग गर्दै बाणी सव डिभिजनमा तालाबन्दी गरेका छन् ।

सुदूरपश्चिम वन निर्देशनालयका प्रमुख हेमराज विष्ट, कैलाली वन वन डिभिजन प्रमुख राम विचारी ठाकुर, कञ्चनपुर डिजिभन प्रमुख लक्ष्मी राज जोशी बाणी आउनु पर्ने उनीहरुको माग छ ।
बाणी सव डिभिजन प्रमुख भरत प्रसाद साहसित उनीहरुले आफ्नो क्षेत्रको वन अर्कै जिल्लाले कटान गर्दा समेत मौन बसेको भन्दै आक्रोश पोखेका छन् ।
धौलेपानीको काठ बाणी सव डिभिजन प्रमुख साहको निर्देशनमा बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दीका लागि ल्याइएको थियो ।
बाणी डिजिभनमा राखिएको काठ एक हजार चार सय ७० क्यूफिट छ ।
निर्देशनालयले छानबिन समिति बनाएपछि कैलाली डिभिजनले वरिष्ठ वन अधिकृत जीवछ यादवको संयोजकत्वमा वन अधिकृत चन्द्रबहादुर भण्डारी, प्रशासन अधिकृत यज्ञनारायण श्रेष्ठ सदस्य रहने गरी छानबिन समिति बनाएको थियो ।
कैलालीको छानबिन समितिलाई स्थानीयले बाणीमा राखिएको काठ हेर्न रोकेका थिए ।
साउन महिनामा कटानी, घाटगद्दीजस्ता कामकाज पूर्ण बन्द गर्नुपर्ने भए पनि वस्तुगत प्रमाणित सहित माथिल्लो निकायको आदेशविना गर्न नपाउने अवस्थामा पनि कैलाली डिभिजनकै मिलोमतोमा यसरी काठ तस्करीका लागि ल्याइएको भन्दै स्थानीयले विरोध गरेका थिए ।
