

महेन्द्रनगर । २०८२ भदौमा डिभिजन वन कार्यालय कञ्चनपुरका तत्कालिन डिभिजनल वन अधिकृत राम बिचारी ठाकुरको कैलाली सरुवा भयो । ठाकुर सरुवाको केही दिन अघि मात्रै कार्यकक्षमा उनलाई कालोमोसो दलिएको थियो ।
ठाकुरले कैलाली सरुवा भएको अर्को महिना अर्थात असोजमा धौलेपानी केलागाड वन क्षेत्रमा रुख कटान प्रक्रिया अघि बढाए । अत्तरिया सब डिभिजन वन कार्यालय यस्को जिम्मेवारी लिएर खटियो ।
कैलाली गोदावरी नगरपालिका १२ का वासिन्दाका लागि कञ्चनपुरको वन समेत समेटेर बनाएको सिद्ध बैजनाथ सामुदायिक वनबाट काठ कटान थालियो । तीन ट्रक खयर केलागाड र कंचनपुर वन क्षेत्रबाट कैलाली पुगेको बताइन्छ ।
कंचनपुरले सामुदायिक वन हस्तान्तरण र रुख कटान दुबैमा आपत्ति जनायो । कैलालीले मतलब गरेन । काठ तस्कर समूहसित मिलेर घनघोर वन क्षेत्रमा सामुदायिक वन बनाएको यो पहिलो थिएन ।
कंचनपुर र कैलालीबीच वन क्षेत्रमा बिबाद देखाउने र त्यसको फाईदा उठाउँदै काठ काट्ने योजना अनुसार कन्चनपुरमा पर्ने धौलेपानी वन क्षेत्रमा पनि केलागाड वन क्षेत्रमा पर्ने भन्दै कटान गरियो ।
२०८२ फागुन २९ गते धौलेपानी वन क्षेत्रमा १७९ रुख कटानका लागि कैलालीको जलपादेबी समिललाई टेण्डर दिएको थियो ।
वन कार्यालय सित सम्झौता पछि कटान भयो । कटान कहिले गरियो यकिन छैन ।
साउन १५ गते एकाएक काठ बैंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा ल्याएपछि बरामद भएर धौलेपानी कटानको कहानी बाहिर आउँछ ।
सबैभन्दा अचम्मको कुरो चाहि यतिका महिनासम्म धौलेपानीमा काठ काटिएको जानकारी किन कसैलाई हुन सकेन ।

रोचक कुरा चाहि बाणी सब डिभिजन वन कार्यालय प्रमुख भरत प्रसाद साह घाटगद्दीका लागि मौखिक निर्देशन दिन्छन् । अनि घर बिदा लिएर कार्यालय छाड्छन् ।
डिभिजन वन कार्यालयले काठ बरामद गरी साहको कार्यालयमा पुगाउछ्न। उनी बिदा लिएर बाहिर हुन्छन् ।
जबकी धौलेपानी सहित कृष्णपुरको १ देखि ५ नम्बर वडा सम्मको वन हेर्ने जिम्मेवारी साहलाई नै छ । कैलालीले कटान गरेको वन कृष्णपुर ४ मा पर्छ ।
धौलेपानीमा काटन आदेश दिएकामध्ये ६६ रुख काटिएको बताइएको छ । अहिले वनमा १०८ र बाणीमा राखिएका २१६ गोलिया ती ६६ रुखका हुन भन्ने ठानिएको छ ।
यतिका रुख काटिदा सुइको नपाइने, साउनमा घाटगद्दीका लागि निर्देशन दिने र त्यसपछि बिदा वस्ने बाणी सब डिभिजन प्रमुखका शङ्कास्पद गतिबिधिले काठ कटानना योजनावद्व गरिएकोमा दुई मत छैन ।
काठ घाटगद्दीबारे डिभिजन वनलाई जानकारी समेत नदिएका प्रमुख बिदाबाट फर्के पनि कटान क्षेत्र गएका छैन । मंगलबार युवा उनलाई निवासबाट बाहिर ल्याएर कटान किन चुप बसेको भन्दै आक्रोश पोखेका छन् ।
डिभिजन वन कार्यालय यति निरीह छ कि आफ्नै मातहत कर्मचारीलाई स्पष्टीकरण सोध्न समेत डराएको छ । अरु त सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले बनाएको छानविन समितिले समेत प्रतिवेदनमा उनलाई समेट्न सकेको छैन ।
बिदाबाट फर्केपछि सोधपुछ गर्ने तयारी थियो । बिदाबाट फर्केपछि छाबविन समिति संयोजकको काज फिर्ता गरिएको छ ।
अनुसन्धानमा गाई जात्रा देखियो । उपल्लो निकायले छानविन समिति बनाएपछि कटान गर्न लगाउने कैलाली वन प्रमुख ठाकुरले आफ्नो समिति बनाएर निर्देशनालयलाई चुनौति दिए ।
ठाकुरले वनाएको समितिलाई बाणीमा राखिएको काठ हेर्न रोक लगाएपछि अनुसन्धान विवाद र चर्चाको भूमरीमा फस्यो ।
साउन १५ देखि वन कटान प्रकरणमा तातेको माहौल नया सरकार बनेपछि एकाएक सेलाउन पुग्यो । नयाँ सरकार बनेपछि बरामद काठ बोक्ने ट्रयाक्टर छाडिए भने छानविन समिति संयोजकको काज फिर्ता भएको छ ।
यी सबै कुराले धौलेपानी कटान कता जान्छ भन्ने आम चासो बढेको छ ।
