
किस्ताबन्दी पदाधिकारी नियुक्ति चपेटामा फस्यो सुदूरपश्चिम विश्वविद्यालय, भिसी नियुक्तिको तीन महिना बल्ल रजिष्ट्रार, अन्य पदाधिकारी नियुक्तिको छैन अझै टुङ्गो

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले भिसी नियुक्त भएको तीन महिनापछि रजिष्ट्रार पाएको छ । विश्वविद्यालय सेवाका आयोगका पूर्व सदस्य प्रा.डा. तारादत्त भट्टलाई रजिष्ट्रार नियुक्त गरिएको हो ।
रजिष्ट्रार बुधबार पदभार ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । भिसी प्रा. डा. किसनदत्त भट्टको सिफारिशमा भट्ट रजिष्ट्रार नियुक्त गरिएका हुन् । यस अघि गोबिन्द विष्टलाई कामचलाउन रजिष्ट्रार बनाइएको थियो ।
रजिष्ट्रार भट्टले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासका लागि प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रा. डा. भट्टसँग त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राज्ञिक तथा प्रशासनिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ। त्रिभुवन विश्वविद्यालयमा रहँदा उनले केन्द्रीय शिक्षा विभाग प्रमुख, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक तथा अनुसन्धान डिभिजन प्रमुख लगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।
केन्द्रीय शिक्षा विभाग प्रमुखका रूपमा उनले विभागको प्राज्ञिक तथा प्रशासनिक नेतृत्व गरेका थिए । भने अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकका रूपमा विश्वविद्यालयभित्र हुने अनुसन्धान गतिविधिको प्रवद्र्धन तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह समेत गरेका थिए ।
विश्वविद्यालयले रजिष्ट्रार पाए पनि अन्य पदाधिकारी कहिले पाउने भन्ने टुङ्गो छैन । यसैगरी विश्वविद्यालय डीन, केन्द्रीय क्याम्पस प्रिन्सिपल, विभागहरु सबै कामचलाउ प्रमु्खको हातमा छन् ।
गत असार अन्तिम साता विश्वविद्यालयका इन्जिनियरिङ्ग संकायका डनि प्रा.डा. किसन दत्त भट्टलाई उपकुलपति (भिसी) नियुक्त गरिएको थियो । उनी अघिसम्म प्रा.डा. जयराज अवस्थी, क्रमशः भूषण श्रेष्ठ, अम्मराज जोशी, हेमराज पन्त र यज्ञराज पाठकले भिसीको जिम्मेवारी सम्हालेका छन् ।
भिसी नियुक्त भएपछि भट्टले गुणस्तरीय शिक्षा, पाठ्यक्रम बजार सुहाउँदो मागअनुरूप परिमार्जित, आर्थिक आत्मनिर्भरता, केन्द्रीय, आंगिक, सम्बन्धन कलेजको पुनर्संरचना, दक्ष मानव स्रोत साधन निर्माण, सुशासन, रिसर्च सेन्टर, डिजिटलाइजेसन गर्नेे लक्ष्य सार्वजनिक गरेका थिए । २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको थियो ।
