
धौलेपानी कटान प्रकरण : बल्ल तात्यो कञ्चनपुर वन डिभिजन , बाणी सव डिभिजन प्रमुखमाथि एक साथ दुई निशाना
स्पष्टीकरण सोधियो, बाणीबाट हटाएर शुक्लाफाँटा पुगाइयो

महेन्द्रनगर । धौलेपानी काठ कटान प्रकरणमा बाणी सब वन डिभिजनका तत्कालीन प्रमुख भरत प्रसाद साह बल्ल डिभिजन वनको निशानामा परेका छन् ।
धौलेपानीको काठ बरामद भएपछि एक महिनासम्म साहसित समान्य सोधपुछ गर्न समेत डिभिजन वन आनाकानी गरेको थियो ।
कृष्णपुरका स्थानीयले साहले धौलेपानी कटानमा चुपचाप सहयोग गरेको भन्दै बाणी सब डिभिजन वन कार्यालयमा तालाबन्दी गरेपछि डिभिजन वन साहमाथि कठोर बन्न पुगेको छ ।
डिभिजन वनले साहमाथि एक साथ दुई कदम चालेको छ । साहलाई बाणी सब डिभिजनको जिम्मेवारी बाट हटाइएका छ्न । उनलाई शुक्लाफाटा सब डिभिजन प्रमुखको जिम्मेवारी दिइएको छ ।
भदौ १८ गते डिभिजन वन प्रमुख लक्ष्मीराज जोशीले साहको जिम्मेवारी हेरफेर र धौलेपानी कटान सम्बन्धि स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।
त्यस अनुसार डिभिजनले साहलाई सात दिन भित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ ।
डिभिजन वन प्रमुख जोशीले कार्यालयको निर्देशन अनुसार स्पष्टीकरणको जवाफ आउने बताए । ‘कार्यालयले जे निर्देशन दिन्छ, त्यो सबैले मान्नु पर्छ’ उनले भने ।
धौलेपानीका काठ बङ्कस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा घारगद्दीको निर्देशन दिएर साहले साउन १३ गते घर बिदाका लागि निवेदन दिएका थिए ।

साउन १४ गते साहको एक साताको घर बिदा स्वीकृत भएको थियो । घर बिदा सकिएपछि उनी आफूलाई सन्चो नभएको भन्दै अधिकाङ्श समय निवासमा बस्ने गरेका थिए ।
सब डिभिजन वन मातहतको धौलेपानीमा काठ कटान भएर बरामद हुँदासम्म केही गर्न नसकेको भन्दै डिभिजन प्रमुख जोशीको आलोचना भएको थियो ।
सुदूरपश्चिम वन निर्देशनालयले भदौ १५ गते धौलेपानी कटानको बिस्तृत अनुसन्धान गर्न छानबिन समिति बनाएपछि डिभिजन प्रमुख जोशीले साहमाथि अनुदार बनेका हुन् ।
काठ बरामद भएपछि निर्देशनालयले डिभिजन वन कार्यालय कंचनपुरका तत्कालीन वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टको नेतृत्वमा अनुसन्धान समिति बनाएको थियो ।
बाणी सब डिभिजन प्रमुख साह समिति बन्न अघि बिदमा बसेकाले उनीसित कुरा हुन सकेको थिएन । समितिले कटान सम्बन्धि जानकारी पठाउन सब डिभिजनमा पत्र पठाएको थियो ।
कृष्णपुर ४ मा पर्ने धौलेपानीमा कैलाली डिभिजन वन कार्यालयले क्षेत्राधिकार बाहिर गएर गत बर्ष रुख कटान गर्न लगाएको थियो ।
कैलाली डिभिजनका अनुसार १ सय ७९ रुख कटान गर्न अनुमति दिइएको छ । ती मध्ये ६६ रुख काटिएको विवरण कंचनपुरलाइ पठाइएको छ ।
कंचनपुरमा पर्ने वन क्षेत्र समेटेर कैलालीका बासिन्दाका लागि सामुदायिक वन बनाएपछि दुई जिल्लाबिच बिबाद चर्किएको थियो ।
धौलेपानी वन क्षेत्र आशपास कैलालीको गोदावरी नगरपालिका ११ र १२ वडाका बस्ती छन् ।
