

महेन्द्रनगर । शारदा संस्कृत विद्यापिठ महेन्द्रनगरको शारदा अनुसन्धान मुलक पत्रिका विमोचन गरिएको छ ।
मोती जयन्तीको अवसर पारी शुक्रबार सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको प्रमुख आतिथ्यमा विद्यापीठमा कार्यक्रम गरी पत्रिका विमोचन गरिएको छ ।
पत्रिका विमोचनसंगै मोती जयन्तीको अवसरमा काव्य वाचन कार्यक्रम पनि गरियो ।
विद्यापिठका प्राचार्य हरिलाल जोशीले अध्यक्षतामा गरेको कार्यक्रममा गुगुल्डी बाङमय प्रतिष्ठानका अध्यक्ष बीर बहादुर चन्द र क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोजराज जोशी विशिष्ठ अतिथि थिए ।
कार्यक्रमका प्रमुख अतिथि कुलपति नेपालले विद्यापिठको पत्रिकाले साहित्य, संस्कृति, भाषा सहित प्राज्ञिक क्षेत्रको प्रगतिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सुदूरपश्चिमको भाषा, संस्कृति, साहित्य संरक्षणका लागि प्रतिष्ठान सधैं सक्रिय भएर लाग्ने उल्लेख गर्दै उनले विद्यापिठले अनुसन्धान मुलक पत्रिका प्रकाशन गरी शैक्षिक क्षेत्रमा सराहनीय कार्य गरेको बताए ।
प्रतिष्ठानका कुलपति नेपाल कञ्चनपुरका चर्चित लेखक तथा साहित्यकारका रुपमा परिचित छन् । शिक्षण पेशाबाट राजनीति हुँदै साहित्य र लेखनमा सक्रिय नेपाललाई केही महिना अघि सुदूरपश्चिम सरकारले प्रतिष्ठानको कुलपति नियुक्त गरेको थियो ।

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख जोशीले भोटेकोशी बाढीले देश अकल्पनीय संकटमा परेकोमा दुःख व्यक्त गर्दै अहिले देश रोइ रहेकोले सबैले सक्दो सहयोग गर्न पर्नेमा जोड दिए ।
जोशीले गौरा सम्बन्धि रचना सुनाए । गौरा पर्व सुदूरपश्चिमको सबैभन्दा ठूलो पर्व हो । गुगुल्डी बाङमय प्र्रतिष्ठानका अध्यक्ष चन्दले पनि रचना प्रस्तुत गरे ।
मानसखण्ड फाउन्डेसनका अध्यक्ष नारा जोशीले देश अप्ठेरो अवस्थामा भएको उल्लेख गर्दै नेपाली साहित्यमा मोती राम भट्टको योगदान अविस्मरणीय रहेको बताइन् ।

विद्यापिठका उप प्राध्यापक श्याम सुन्दर ढकालले मोतीराम भट्टको जीवनीबारे जानकारी दिए ।
विद्यापिठका उप प्राध्यापक डा. राज कुमार साउँदले पत्रिका सम्बन्धि जानकारी दिँदै नाम जुराउन धेरै मिहिनेत गर्न परेको सुनाए ।
पत्रिकाको आगामी अंकलाई अझै व्यवस्थित र परिस्कृत गरी प्रकाशन गर्ने साउँदको भनाई थियो ।
पत्रिकाको समीक्षा गर्दै उप प्राध्यापक हरि प्रसाद खतिवडाले समान्य कमजोरीका बाबजुद पत्रिका अनुसन्धान मुलक पठनीय सामाग्री समावेश गरी प्रकाशन गरिएको उल्लेख गरे ।
‘यसमा सबै विषय सकारात्मक नै छन्, त्यसका बाबजुद दुई चार कुरा समान्य कमजोरीका छन्’ उनले भने, ‘यसलाई पनि आगामी अंकमा सुधार गर्दै जाने विश्वास गर्न सकिन्छ ।’
कार्यक्रममा आचार्य घनश्याम लेखक, डा. मोहन प्रसाद पन्त, निर्मला साउँद, डा. मोहन चौधरी, साक्षी खतिवडा लगायतले विभिन्न रचना वाचन गरे ।
विद्यापिठका प्राचार्य जोशीले कार्यक्रम समापन गर्दै पत्रिका विमोचन कार्यक्रममा सहभागी कुलपति नेपाल सहित सबैमा धन्यवाद सहित आभार व्यक्त गरे ।
भाषा, साहित्य, संस्कृति संरक्षण र प्रगतिका लागि विद्यापिठ वर्षाैदेखि प्रयास गर्दै आएको उल्लेख गर्दै उनले अनुसन्धान मुलक पत्रिका त्यसको पाटो भएको बताए ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसित सहकार्य गरी विद्यापिठ अघि बढ्न सधै तयार भएको धारणा जोशीले राखे ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति सहित परिचित साहित्य सहित प्राज्ञिक व्यक्तित्व विद्यापिठमा उपस्थिति हुन गौरबको कुरा भएको प्राचार्य जोशीले उल्लेख गरे ।
‘विद्यापिठ आगामी दिनमा सबै क्षेत्रसित सहकार्य र समन्वय गरी अघि बढ्न चाहन्छ, सबैको साथ र सहयोग पाउने विश्वास गर्छ’ उनले भने ।
२ सय १६ पृष्ठको पत्रिकामा १६ लेखकका विभिन्न लेख प्रकाशित छन् । प्राचार्य जोशीले ढाँचा तयार गरेको पत्रिकाको प्रधान सम्पादक शिवराज लामिछाने छन् । विद्यापिठका उप प्राध्यापक नारायण जोशी सम्पादकीय टीमका सदस्य छन् ।
उप प्राध्यापक जोशीले पत्रिका विमोचन कार्यक्रम सञ्चाल गरेका थिए ।
