
धौलेपानी कटान प्रकरण : घाटगद्दीको मौखिक आदेश दिने कर्मचारी सहित छपान कटानमा संलग्न सबैमाथि कारवाही थाल्न साउन २५ गते नै भट्ट नेतृत्वको छानबिन समितिले निर्देशनालयमा बुझाएको थियो २८ पृष्ठको प्रतिवेदन

महेन्द्रनगर । सुुदूरपश्चिम वन निर्देशनालयले धौलेपानी कटान प्रकरण छानबनिका लागि गठन गरिएको छानविन समितिले क्षेत्राधिकार बाहिर गएर कटान गरिएको निष्कर्ष सहित संलग्न सबैलाई कारवाही सिफारिश सहित प्रतिवेदन निर्देशनालयमा बुझाएको पाइर्एको छ ।
धौलेपानीमा कटान गरिएको काठ दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दीका लागि आएपछि साउन १५ गते डिभिजन वन कार्यालय कञ्चनपुर र बाणी सब डिभिजनले बरामद गरेको थियो ।
त्यसपछि निर्देशनालयले डिजिभन वनका तत्कालिन वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टको नेतृत्वमा छानबिन कटान छानबिनका लागि समिति गठन गरेको थियो । समितिले कटान क्षेत्रको स्थलगत निरीक्षण गरी प्रतिवेदन बनाएर साउन २५ गते निर्देशनालयमा बुझाएको थियो ।
प्रतिवेदनमा कैलाली डिभिजन वन कार्यालयबाट भएको छपान कार्य, प्रदान गरिएको वन पेशी, सम्बन्धित कर्मचारीको जिम्मेवारी निर्धारण, मौखिक आदेश दिने भनेर खुलेका कर्मचारी र अन्य संलग्नको हकमा नियमानुसार कारवाही गर्न सिफारिश गरिएको छ ।
२८ पृष्ठको प्रतिवेदनको निष्कर्ष खण्डमा कैलाली डिभिजनले गरेको छपान र वन पेशी अधिकार क्षेत्रभन्दा बाहिर गएर गरिएको प्रशासनिक कार्य भएको उल्लेख गरिएको छ । ‘काननु प्रदत्त अधिकार क्षेत्र भन्दा बाहिर गई गरिएको कार्यलाई अन्य प्रक्रिया पालनाले मात्रै वैधता प्राप्त भएको मान्न सकिदैन, डिभिजन वन कार्यालय कैलालीबाट गरिएको छपान र जारी वन पेशी नै अधिकार क्षेत्र भन्दा बाहिर गई गरिएको प्रशासनिक कार्य भएको देखिएको हुँदा निर्णयको वैधानिकतामाथि गम्भीर काननुी प्रश्न उठेकोले छानबिनका क्रममा देखिएका प्रमाणबाट देखिन आएको छ’ प्रतिवेदनमा भनिएको छ ।
सुदूरपश्चिम उद्योग, वन, वातावरण तथा पर्यटन वन मन्त्रालय स्रोतका अनुसार कैलाली डिभिजन वनले कटान क्षेत्रलाई सीमा विवादित भनेर उल्लेख गरे पनि प्रतिवेदनमा काटिएको रुखको जीपीएस स्थित ४ सयदेखि १ हजार १ सय ५० मिटर कञ्चनपुरभित्र पाइएको प्रतिवेदनमा समावेश गरिएको छ ।

प्रतिवेदनले कञ्चनपुर सीमा भित्र आएर रुख छपान तथा कटान गरिएकाले सम्बन्धित निकायको क्षेत्राधिकारको कानुनी परीक्षण गर्न समेत सुझाव दिएको छ । धौलेपानी कटान अहिलेको विषय मात्रै नभएर यस अघि काटिएको खयर काठ तथा सामुदायिक वन विस्तार क्षेत्रसंग समेत सम्बन्धित भएकाले त्यस कार्यको समेत छानबिन गर्नु पर्ने प्रतिवेदनमा समावेश छ ।
कैलाली वन डिभिजनले गरेको छपान तथा कटान वन ऐन २०७६, वन नियमावली २०७९, वन पैदावार संकलन तथा बिक्री निर्देशिका २०७३ मा भएका सबै कानुनी प्रावधान मिचिएको ठहर गरिएको छ ।
‘राष्ट्रिय वन क्षेत्र कटान, चार किल्ला निर्धारण, काठको टाँचा तथा चलान पूर्जी, जिपिएस अवस्थिति, घाटगद्दी, घाटगद्दी थप, छपान रद्द लगायतका कुनै पनि प्रक्रियाहरु पालना गरिएको देखिएको छैन’ प्रतिवेदनमा छ ।
प्रतिवेदनमा कैलाली वन डिभिजन प्रमुख राम विचारी ठाकुरले सीमा विवादबारे जानकार हुँदा हुँदै धौलेपानीमा काठ कटान गराएको समावेश गरिएको छ । ठाकुर २०८२ भदौ ५ गते कञ्चनपुरबाट कैलाली सरुवा भएका थिए । कञ्चनपुर प्रमु्ख हुँदा सीमा विवाद हल गर्न उनी आफैंले छलफल गरेका थिए ।
कैलाली गएपछि सीमा विवादबारे जानकारी नभएको भन्दै उम्किन सक्ने आधार नभएको प्रवितेदनले औल्याएको छ ।
बाणी सव डिभिजनका तत्कालिन प्रमुख भरत साहले घाटगद्दीका लागि दिपेन्द्र स्मृति सामुदायिक वनलाई मौखिक निर्देशन दिएको बाहिर आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनले धौलेपानीमा कटानपछि छाडिएका गोलियाको सुरक्षा गर्न समेत आवश्यक कदम चाल्न सुझाव दिएको थियो ।
धालेपानीको कटान भएको वन क्षेत्र स्थलगत निरीक्षण गरी छपान भएका गरिएका सहित अन्य हानी नोक्सानी सबैको यकिन गरी आवश्यक कारवाहीका लागि प्रतिवेदनमा सुझाव दिइएको छ ।
कैलाली डिभिजनले धौलेपानीमा १ सय ७९ रुख कटान गर्नका लागि आदेश दिएको थियो । त्यसमध्ये ६६ रुख काटिएका थिए । ती काटिएका रुखका २ सय १६ गोलिया बाणी सब डिभिजन र अन्य १ सय ८० वन क्षेत्रमा छन् । त्यसमध्ये १ सय १७ गोलिया टाँचा नभएको भेटिएको छ ।
कैलालीको जलादेबी सःमिले काठ कटानको ठेक्का पाएको थियो । कटान गरिएको काठ गोदावरी नगरपालिकाको बडि मालिका सामुदायिक वनमा घाटगद्दी गर्ने स्थान तोकिए पनि साउनमा दिपेन्द्र स्मृति सामुदायिक वन पुगाइएका थिए ।
काठ बरामद हुँदा कुनै पनि कागजात नभेटिएको पाइएको थियो । बाणी सव डिभिजन प्रमुख साहले दिपेन्द्र स्मृति सामुदायिक वनमा काठ घाटगद्दी गरिएको दिन घर विदाका लागि निवेदन दिएका थिए ।
सुदूरपश्चिम वन निर्देशनालयले भदौ १५ गते काठको विस्तृत छानबिन गर्न डिभिजन वन कार्यालयलाई निर्देशन दिएपछि वन अधिकृत रणेन्द्र सिहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
