ghar sansar

मध्यवर्ती क्षेत्रका समिति तथा सामुदायिक वनका पदाधिकारीलाई समूह व्यवस्थापन तथा सुशासन तालिम

khasi

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रका मध्यवर्ती उपभोक्ता समिति तथा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीलाई समूह व्यवस्थापन तथा सुशासन सम्बन्धी तालिम दिइएको छ ।

कनेक्ट परियोजनाको आयोजनामा तथा हिमाली प्रकृति र कनेक्ट परियोजनाको समन्वय तथा सहजीकरणमा सञ्चालन गरिएको तालिमले उपभोक्ता समितिलाई केवल वन संरक्षण गर्ने संस्थाका रूपमा नभई पारदर्शी, जवाफदेही र सहभागितामूलक ढंगले सञ्चालन हुने स्थानीय संस्थाका रूपमा विकास गर्ने विषयलाई जोड दिएको छ ।

तालिमको उद्घाटन गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका प्रमुख तथा निकुञ्जका संरक्षण अधिकृत राजेश लम्सालले मध्यवर्ती क्षेत्र र सामुदायिक वन संरक्षणमा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण रहेको बताए ।

संरक्षणका कामलाई प्रभावकारी बनाउन समिति र समूह व्यवस्थित, पारदर्शी तथा जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

उनले वन्यजन्तु संरक्षण र समुदायको हितबीच सन्तुलन कायम गर्न उपभोक्ता समितिको संस्थागत क्षमता बलियो हुनुपर्ने बताए । संरक्षणबाट समुदायले लाभ पाउने र समुदायको सहभागिताबाट संरक्षण प्रभावकारी हुने भएकाले दुवै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा कनेक्ट परियोजनाका धिरेन्द्र चन्दले परियोजनाका उद्देश्य, गतिविधि र समुदायसँगको सहकार्यबारे जानकारी दिनुभयो। समुदायको क्षमता अभिवृद्धि गर्दै स्थानीयस्तरमै समस्या पहिचान र समाधानका लागि सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

तालिमको सहजीकरण स्थानीय शासन विज्ञ बिसनदेव जोशीले गरेका थिए । उनले समिति गठन गर्नु मात्र पर्याप्त नहुने, त्यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न स्पष्ट भूमिका, नियमित बैठक, पारदर्शी निर्णय र आर्थिक अनुशासन आवश्यक पर्ने विषयलाई व्यवहारिक उदाहरण सहित प्रस्तुत गरे ।

dirghayi clinic

जोशीले समूह तथा समितिको महत्व, फाइदा र भूमिका, बैठक व्यवस्थापन, निर्णय प्रक्रिया, प्रभावकारी समूह सञ्चालन तथा निर्णय कार्यान्वयन, आर्थिक पारदर्शिता, प्रतिवेदन तयार गर्ने विधि, पत्राचार गर्ने तौरतरिका र समूहको कारोबार व्यवस्थापनबारे प्रशिक्षण दिए ।

त्यसैगरी समूहको उद्देश्य निर्धारण, नियमित सम्बन्ध र समन्वय, प्रभावकारी समितिका विशेषता, सहभागितामूलक निर्णय, पदाधिकारी तथा सदस्यको भूमिका, बैठक सञ्चालन, निर्णय कार्यान्वयन र समूहभित्र उत्पन्न हुने विवाद व्यवस्थापनका विषयमा समेत छलफल गराए ।

सुशासनलाई कागजी प्रक्रिया मात्र नभई व्यवहारको विषय बनाउनुपर्नेमा जोड दिँदै जोशीले नेतृत्व क्षमता विकास, सुशासन, सदाचार प्रवद्र्धन, जवाफदेहिता र पारदर्शितालाई समितिको नियमित कार्यशैलीसँग जोड्नुपर्ने बताए ।

उपभोक्ता समितिले गर्ने आर्थिक कारोबार, निर्णय र कार्यक्रमका विषयमा सदस्यलाई जानकारी गराउने तथा आय–व्ययको पारदर्शी अभिलेख राख्ने अभ्यासले समितिप्रति समुदायको विश्वास बढाउने उनको भनाइ थियो । सहभागीको सक्रिय सहभागितामा निर्णय गर्ने अभ्यासले समूहभित्रको विवादसमेत न्यूनीकरण गर्न सकिने उनले बताए ।

तालिममा त्रिशक्ति र सुनदेवी उपभोक्ता समिति अन्तर्गतका समूह तथा सामुदायिक वनका पदाधिकारीको सहभागिता रहेको थियो ।

तालिममा सहभागी पदाधिकारीले समिति सञ्चालनका क्रममा देखिने व्यवहारिक समस्या, बैठक व्यवस्थापन, आर्थिक कारोबार तथा निर्णय प्रक्रियाका विषयमा जिज्ञासा राखेका थिए ।

तालिमको समापनमा सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले समितिका पदाधिकारीलाई संस्थागत रूपमा सक्षम बनाउन यस्ता तालिम उपयोगी भएको बताउनुभयो। समितिको नेतृत्वले मात्र सबै काम गर्नेभन्दा सदस्यको सहभागिता बढाएर पारदर्शी र सामूहिक निर्णयको अभ्यास गर्नुपर्ने उनको भनाइ थियो ।

उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै समितिको कामलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...