

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले खल्ला मुसेट्टीका विद्यालयमा गज्जबको खेल खेल्ने गरेको पाइएको छ ।
भीमदत्तको दुर्गम मानिने ९ नम्बर वडाका विद्यालयमा बाहिर जिल्लाबाट शिक्षक सरुवा गरी ल्याउन खाली दरबन्दी राखेर करार शिक्षक नियुक्ति प्रक्रिया थालिएको छ ।
अहिले खल्ला, टुँडीखेल र मुसेट्टीमा दुई आधारभूत विद्यालय छन् । तीमध्ये सरस्वती आधारभूत विद्यालय वैशाख १० गतेको दरबन्दी मिलानमा कक्षा ३ मा झारिएको थियो । त्यस अघि विद्यालयमा ५ सम्म पढाई हुने गरेको थियो ।
टुँडीखेलको बैजनाथ आधारभूत चालु शैक्षिक सत्रको सुरुमा बन्द गरिएको थियो । कार्यदलले ३ कक्षासम्म सञ्चालन गरेको सिफारिश विपरित विद्यालयलाई शुन्यमा झारिएको थियो ।
अहिले खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाई हुने गरेको छ । अहिले भीमदत्त र सरस्वती दुबैमा शिक्षक दरबन्दी खाली विवादमा पारि दिएको छ ।
दरबन्दी खाली गरी तत्काल करार शिक्षक नियुक्त गर्ने र त्यसपछि बाहिर जिल्लाबाट सरुवा गरी ल्याउन दरबन्दी खाली राखेर करार नियुक्ति थालिएको चर्चा व्यापक भएको छ ।
शिक्षक सरुवामा ठूलो आर्थिक चलखेल हुने गरेको बताइन्छ । भीमदत्त ९ का स्थानीयले पनि आर्थिक चलखेलका लागि दरबन्दी खाली राखिएको आशंका गरेका छन् ।
भीमदत्त नगरपालिका ९ का स्थानीय दिपेन्द्र सिह ऐरीले आर्थिक चलखेलका कारण पहाडबाट शिक्षक ल्याउने नियतले विद्यालयमा शिक्षक दरबन्दी रिक्त बनाएको बताए । उनले सरुवा गरी रिक्त गरिएका दरबन्दीमा शिक्षक पठाउन आग्रह गरेका छन् ।
‘भीनपा ९ स्थित भएका स्थायी शिक्षकहरु सरुवा गरी विद्यालय शिक्षक विहिन बनाउने अनि केही थान शैक्षिक दलाल र कमिशनखोरहरु मिलेर पहाडबाट कमिशन खाएर नयाँ शिक्षक भर्ने यो विकृत निक्कै खतरनाक छ, तसर्थ विकट क्षेत्रबाट सरुवा गरि सदरमुकाम लगिएका शिक्षक दरबन्दी सोहि विद्यलयमा पुनःपठाउन अनुरोध गर्दै विद्यलय सुधारको शिखर चुम्ने शिक्षा शाखा चिर निद्रामा हुने सुहाएन नि है । यस्ता कुहर्कत तत्काल रोक्न अनुरोध गर्दछु । हिलो छ्याप्न भुलेको हैन’ सामाजिक सञ्जालमा उनले भनेका छन् ।
भीमदत्त नगरपालिकाले चालु शैक्षिक सत्रको बैशाख १० गते दरबन्दी मिलान गरेको तीन महिनामै फेरि अर्को दरबन्दी मिलान गरी खल्लाको भीमदत्त स्मृति माध्यमिक विद्यालय र मुसेट्टीको सरस्वती आधारभूत विद्यालयबाट शिक्षक सरुवा गरी दरबन्दी खाली बनाएको थियो ।
भीमदत्त स्मृतिबाट सुरज जोशी र सरस्वती आधारभूत विद्यालयबाट दिवाकर जोशीको सरुवा गरिएको थियो ।
अहिले ती दुबै विद्यालयमा एकै दिन अस्थायी करार शिक्षक राख्न विज्ञापन खोल्न लगाएपछि भीमदत्त सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।
भीमदत्त नगरपालिकाले गरिब बस्तीका बासिन्दाका बाल बालिकालाई पढाईबाट बन्चित गर्न शैक्षिक सत्र सुरु भएको पाँच महिनापछि शिक्षक सरुवा गरिएको भन्दै आक्रोश पोखिएको छ ।
बिद्यालयलाई राजनीतिक थलो बनाएर शैक्षिक पठनपाठन ध्वस्त गर्न खोजिएको आरोप भीमदत्त नगरपालिकामाथि लगाइएको छ ।
भीमदत्त ९ खल्लाका स्थानीय रुप सिह पालीले खल्ला मुसेट्टीमा आफन्त पायक मिलाई सरुवा गर्ने केन्द्रको बनाउन खोजिएको भन्दै आक्रोश पोखेका छन् ।
‘गरिबकी श्रीमति सबैकी बौजू भनेझैँ) भी ना पा ९ को भीमदत्त आबि विद्यालय खल्ला विकट कञ्चनपुरको कर्णाली हो, यहाँ विपन्न गरिब मानिस बस्छन् । त्यसैले यहाँ सरुवा केन्द्रको रूपमा अनेकौँ भई रहन्छ र नगरपालिकाले राजनीतिक अखडा बनाई आफ्नो शिक्षक बाहिर जिल्लाबाट सरुवा ल्याउने पायक मिलाई सरुवा लैजाने, समितिको म्याद सकिएको ३ ÷४ भयो । यसै गतिविधि कारण शिक्षक अभिभावक समितिले पनि राजीनामा दिई सकेका छन्, स्कुल राजनीतिक खेल मैदान बनाएर मजा लिएको छ, यहाँका बालबालिकाको भविष्यमाथि खेलवाड गर्दै…’ उनले भनेका छन् ।
शिक्षक दरबन्दी पूर्ति गर्न लागिएका विद्यालयमा अन्तरिम विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार करार शिक्षक पदपूर्ति प्रक्रिया थालिएको बताइएको छ ।

भीमदत्त नगरपालिकाको शिक्षा नियमावली २०७९ को नियम ३२ को बमोजिम अन्तरिम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुने गर्छन् ।
वडा अध्यक्ष गगन नाथले भने आफूलाई यसबारे केही थाहा नभएको बताएका छन् ।
वडा अध्यक्षलाई जानकारी नभएपछि नगरपालिकाको करार शिक्षक नियुक्ति प्रक्रिया झन शंका बढाएको छ ।
भीमदत्त नगरपालिका ९ का स्थानीय नरेन्द्र कार्कीले वडा अध्यक्षलाई जानकारी समेत नदिएर शिक्षक नियुक्ति प्रक्रिया थाल्न गम्भीर भएको बताए ।
‘भीमदत्त नगरपालिकाको शिक्षा नियमावली,२०७९ को नियम ३२ को बमोजिमको वि.व्य.स. रहेका खल्ला मच्छेट्टीका विधालयहरुले अस्थायी शिक्षक नियुक्ति जस्तो निर्णय कानुनले दिन्छ कि दिँदैन त्यसमा पनि अन्तरिम विधालय व्यवस्थापन समितिले निर्णय कहिले गर्यो भन्ने जानकारी वडा अध्यक्षलाई छैन । तत्काल विद्यय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिनु पर्नेमा भीमदत्त नगरपालिकाले किन शिक्षक नियुक्तिका लागि अनुमति दियो । प्रश्न गम्भीर छ’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
भीमदत्त नगरपालिकाको पछिल्लो दरबन्दी मिलान सम्बन्धि जानकारी बाहिर ल्याएको छैन । भीमदत्तको शिक्षा शाखाले शाखामा बोलाएर शिक्षकलाई सरुवा पदस्थापन पत्र थमाएको थियो ।
भीमदत्तको नगर शिक्षा समितिले शिक्षक सरुवाको निर्णय गरेपछि शाखामा बोलाएको थियो ।
शिक्षक दरबन्दी मिलान सम्बन्धि नगर शिक्षा समितिको निर्णय अझैसम्म कार्यपालिका बैठकमा लगिएको छैन ।
भीमदत्तले यस अघि जिल्ला बाहिरबाट सरुवा भएर भीमदत्त स्मृति आएका शिक्षकलाई सदरमुकाम नजिक ल्याएको थियो ।
भीमदत्तले बैशाख १० गते गरेको दरबन्दी मिलानमा खल्ला मुसेट्टीलाई दुर्गम क्षेत्र मान्दै त्यहाँ कार्यरत शिक्षकलाई खाली हुने दरबन्दीमा प्राथमिकता दिएर सरुवा गर्ने निर्णय गरेको थियो ।
भीमदत्त ४ भगतपुरस्थित शिब ज्ञानेश्वर आधारभूत सहित शिक्षक रिक्त बिद्यालयमा अन्यत्रबाट शिक्षक ल्याएपछि आलोचना भएको थियो ।
भीमदत्तका जन प्रतिनिधि, शिक्षा शाखा, नगर शिक्षा समिति र दरबन्दी मिलान कार्यदल सदस्य,राजनीतिक दलका नेता नजिक पहुँच भएका शिक्षक आएको आरोप लागेको थियो ।
रिक्त दरबन्दीमा चाहे अनुसार पदस्थान गर्न सकिने अवस्था नआएपछि भीमदत्तले फेरि दरबन्दी मिलान सुरु गरेको थियो ।
दरबन्दी मिलान गरिएका शिक्षकको विवरण अझै बाहिर ल्याएको छैन । बिरोध हुने डरले सरुवा पदस्थापन गरिएका शिक्षकलाई शिक्षा शाखामा बोलाएर पदस्थान पत्र थमाएको थियो ।
भीमदत्तको सामाजिक बिकास समितिका संयोजक सुशिल कुमार भट्टको नेतृत्वमा दरबन्दी मिलान सिफारिश कार्यदल छ ।
समितिमा भीमदत्त नगर शिक्षा समितिका सदस्य डबल बिष्ट, नेपाल शिक्षक महासंघ कंचनपुरका अध्यक्ष निर्मला जोशी, महासंघको भीमदत्त नगर अध्यक्ष दिवाकर जोशी सदस्य छन् । भीमदत्तको शिक्षा शाखाका अधिकृत दिपेन्द्र बिष्ट कार्यदलको सदस्य सचिव छन् ।
भीमदत्तका मेयर पदम बोगटी नगर शिक्षा समितिको अध्यक्ष छ्न । शिक्षा समितिको कार्यकाल सकिएपछि पुरानो समितिलाई निरन्तरता दिएका थिए ।
भीमदत्तको दरबन्दी मिलान सिफारिस कार्यदलका संयोजक भट्टले केही बिद्यालय मर्ज भएकाले शिक्षक दरबन्दी मिलान गर्न परेको बताएका थिए ।
भीमदत्त ९ का ऐरीले सरुवा गरिएका शिक्षक तत्काल सोही विद्यालयमा नफर्किए नतिजा राम्रो नहुने चेतावनी दिएका छन् ।
‘भीमदत्त नगर शिक्षा समिति, खल्ला मसेट्टीबाट सरुवा गरिएका ती ०२ स्थायी दरवन्दि भएका शिक्षकहरु तुरुन्त भीनपाकै उक्त विधालयमा पठाईएन भने नतिजा फरक पर्ला है । पहाडबाट शिक्षक ल्याउने र भएका विद्यालयमा शिक्षक रिक्त राख्ने शिक्षक भर्ना गर्ने कुहर्कत तत्काल वन्द गरियोस’ ऐरीले सामाजिक सञ्जालमा भनेका छन् ।
