ghar sansar

जगुको दोसो जुनी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० वागफाटाका जगुराम थारु चौधरी २०६२ माघ २० गते राती खाना खाएर सुति सकेका थिए । तत्काली शाही सेनाको टोली घर बाहिर आई सकेको पत्तो भएन । बन्दुक सहित घर भित्र पसेका सेनाले चौधरीलाई ओछ्यानबाटै बाहिर लिएर आए ।

घर बाहिर निकालेपछि कुट्न थाले । माओवादी चिनेको छस भन्दै कुट्न थाले । बन्दुकका कुन्दाले तीन पटक हानेपछि तस्बिर खिच्यो । माओवादी हो भन्दै कुट्दै चोकमा पुगाए । त्यहाँ आफूलाई बेस्सरी कुटेको उनी सम्झन्छन् ।

सेनाले माओवादी हो हो भन्दै चौधरीले होइन भन्ने जवाफ फर्काउने गरेका थिए । कुट्दाकुट्दै खैर भट्टी पुगाएपछि पिसब फेर्न दिएर खेतबारी भएर भगतपुरस्थित ब्यारेक पुगाइएको थियो ।

ब्यारेक पुगाएपछि कसैले नोलाएको र त्यसपछि कोठामा लगेर चाउचाउ खान दिएको चौधरीले सम्झिए । ब्यारेक पुग्दा आँखामा पट्टी बाँधेकाले केही पनि देख्न नसकेको उनी बताउँछन् ।

अर्को दिन बिहानैदेखि सेनाले चौधरीको बयान लिन सुरु ग¥यो । बयान लिने क्रममा पहिलो प्रश्न सोधियो अशोक कहा छ ? चौधरीले मलाई थाह छैन, आएको बेला खाना खान्छ भनेर जवाफ दिए ।

त्यसपछि उनलाई कति जना मारिस, कति जनालाई बलात्कार गरिस, कुन बैंकका कति पैसा लुटिस भनेर सोधियो ।
यी सबै प्रश्नको उनले एकमुष्ट जवाफ दिए, ‘म माओवादी नै होइन ।’

सेनाले बयान लिएर ड्रम डुबाएपछि भने चौधरीको श्वासप्रश्वास बन्द हुन पुगेको थियो । विद्युतीय करेन्ट प्रवाह गरिएको ड्रमबाट बाहिर निकाल्दा सम्म उनी बेहोस भइ सकेका थिए ।

आफूसँगै अरु दुई जनालाई पनि ड्रममा डुबाएको आफूले देखेको चौधरी सम्झन्छ्न । चौधरी सेनाले ड्रममा हालेपछि बाँचिने आश मरेको बताउँछ्न । ‘बच्छु कि बच्दैन भन्ने मात्रै सोचिन्थ्यो, अहिले त सोच्दा पनि डर लाग्छ’ उनले भने ।

सैनिक हिरासतका सात दिन जीवन जोगिएर जिल्ला प्रहरी कार्यालय आएपछि बचिने आश पलाएको थियो । सैनिक हिरासतमा मृत्यु कुर्न बाहेक अरु बाटो नदेखेका उनी जे कुटाई खान बानी परि सकेका थिए ।

सेनाले दैनिक कुट्ने र पानीमा चोबल्ने काम हिरासत बसुन्जेलसम्म भयो । त्यस बाहेक खाना दिएपछि अन्तिम हो भन्ने शब्दले उनले जिउँदो फर्किने आश मारि सकेका थिए । ‘पानीमा डुबाउने, कुट्ने काम त कुनै दिन छाडिएन, खाना राखेपछि भन्थे, ल तेरो लास्ट खाना हो’ चौधरीले भने, ‘मेरो लास्ट त्यो बेला लेखिएको रहनेछ ।’

सेनाले प्रहरीलाई जिम्मा लगाए पछि ६ दिन जिल्ला प्रहरी कार्यालय बसेर चौधरी निस्किएका थिए ।

माओवादी आरोपमा सेनाले पक्राउ गरी प्रहरीस्म पुगे छुटेपछि उनी माओवादी राजनीतिमा सक्रिय भएर लागे । पछि माओवादी पनि सशस्त्र द्वन्द्व छाडेर शान्तिपूर्ण राजनीतिमा आई सकेको थियो ।

सशस्त्र द्वन्द्वमा बागफाटा भीमदत्तको सर्वाधिक प्रभावित क्षेत्र थियो । चौधरीलाई सेनाले पक्राउ गरेपछि सोधी खोजी गरेका माओवादी नेता अशोक चन्द बागफाँटाका थिए ।

माओवादी सशस्त्र द्वन्दमा उनीहरूलाई सहयोग गरेका चौधरी अहिले माओवादीबाट स्थानीय तह निर्वाचन लडेर भीमदत्त नगर पालिका १९ वडा अध्यक्ष भएका हुन् ।

२०७४ को पहिलो निर्वाचनमा उनी माओवादी केन्द्रबाट नै चुनाव लडेका थिए । पहिलो प्रयासमा उनी सफल हुन सकेन ।

पहिलो पटक चुनाव लड्दा उनी तत्कालिन माओवादी केन्द्रका भीमदत्त नगर कमिटी सदस्य थिए । त्यति बेला पनि उनी मिलमा काम गर्दा गर्दै चुनावी मैदानमा आएका थिए ।

२०७४ मा उनी टङक राज उप्रेतीको मिलमा काम गर्थे । उनी १७ बर्षदेखि मिलमा काम गर्दागर्दै पाँच बर्षपछि फेरि चुनाव लडेर वडा अध्यक्ष भएका हुन् ।

dirghayi clinic

पहिलो चुनावमा एमालेका दामोदर महरा निर्वाचित भएका थिए । चौधरी महराका मिलमा काम गर्थे । मालिकसित उनको चुनावी प्रतिस्पर्धाले चर्चा पाएको थियो ।

५४ बर्षिय चौधरी सबैको साथ सहयोगले चुनाव जितेको बताउँछन् । उनी आदिवासी जनजाति समुदायका पहिलो वडा अध्यक्ष हुन् । ‘यो मेरो दोस्रो जुनी हो, मलाई वडा अध्यक्ष हुन दोस्रो जुनीले जुरायो’ वडा चौधरी भन्छन्, ‘त्यो बेला मरेको भए त आज म कहा पो हुन्थे, यो कुर्सि मेरो भाग्यमा लेखिएको रहेछ ।’

बहुदल स्थापनापछि २०४९ र २०५४ मा काङ्ग्रेसले वडा अध्यक्ष जितेको थियो । ती दुबै चुनावमा काङ्ग्रेसका लक्ष्मी प्रसाद जोशी निर्वाचित भएका थिए । त्यसपछि एमालेका महरा निर्वाचित भएका थिए ।

भीमदत्त १९ बागफाटा सबैभन्दा कान्छो वडा हो । पहिले यो वडा २ नम्बरमा थियो ।

शुक्लाफाँटा निकुन्ज बिस्तारका क्रममा ४० परिवारलाई बागफाटामा सट्टापट्टा दिएर व्यवस्थापन गरिएको थियो । यसलाई पुरानो बस्ती भन्ने गरिन्थ्यो । ती परिवार २०३८ मा बसेका थिए ।

२०४६ मा झाला, रौतेली बिचवा, झलारी, अर्जुनी, हिरापुरका बिस्थापितलाई पुन व्यवस्थापन गरिएको थियो ।

यो वडा सबैभन्दा धेरै २८ चोक छ्न । पिसिओ चौराह, खन्ना चौराह, कुबेर चौराह, पन्चमुखी चोक यस वडाका चर्चित चोक हुन् ।

वडालाई ९ टोलमा बाडिएको छ । शुक्लाफाटा राष्ट्रिय निकुञ्जसित जोडिएको वडा पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्न सकिने अध्यक्ष चौधरी बताउँछन् ।

पूर्व, पश्चिम र दक्षिणका चौधर नदी, भासी खोला र गोबरैया नाला बिपदका कारण बनेका छन् ।

तीनतिर शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र नदीले घेरेको वडा अन्य वडाको तुलनामा बिकासमा पछि परेको वडा अध्यक्ष चौधरी बताउँछन् । ‘बिकासका रुपमा हेर्ने हो भने यो वडा सबैभन्दा पछाडि छ, खेतीयोग्य जमिन बर्सेनि कटान हुदैछ, कटान भएर घर परिवार बिस्थापित हुन पुगेका छन्’ उनले भने, ‘निकुञ्जका जनावरले त दिने हैरानी भनि साध्य नै छैन ।’

निकुञ्जका हात्ती, बँदेल र चितुवाले बर्सेनि क्षति पुगाउदै आएको चौधरीले बताए ।

एक हजार ८० घरधुरीको वडामा सबै समुदायको बसोबास छ । आदिवासी जनजाति राना र चौधरी ४२ प्रतिशत छन् ।

त्यस बाहेक ५८ प्रतिशत अन्य छन् । वडामा तरकारी खेतीलाई केही किसानले व्यवसायिक रुपमा अघि बढाएका छ्न । अहिले १९ परिवार वडामा सबै भन्दा बढी तरकारी खेती गर्ने किसानको सूचिमा छन् ।

एक सय २८ जना स्थानीय साइकलमा मजदुरी गर्न वडा बाहिर जाने गरेका छन् । निकुञ्ज किनार पर्यटन मार्ग बनेपछि पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सकिने वडा अध्यक्ष चौधरीले बताए ।

आदिवासी जनजाति राना चौधरी समुदाय आफ्नै मौलिक संस्कार भएका समुदाय हुन । समाजमा पछाडि परेको समुदायलाई सबैले साथ दिएर मून प्रवाहमा ल्याउनु पर्ने चौधरीको भनाई छ ।

बागफाँटामा मुक्त हलियाको नमूना बस्ती छ । चौधर नदी किनार सरकारले मुक्त हलिया पुन स्थापन कार्यक्रम अन्तर्गत बस्ती निर्माण गरेको थियो । बाटोघाटो निर्माण, तटबन्ध निर्माण, सिचाईका लागि बोरिङ्ग जडान, निकुन्ज किनार तारजाली हाल्ने, ग्राभेलिङ्ग लगायतका कार्य गरिएका छन् ।

वडाका कच्ची बाटो स्तरोन्नति प्राथमिकता दिएर काम भएका छ्न । वडाका आधा दर्जन बाटोमा कल्भर्ट निर्माण गरिएका छ्न । सात किलोमिटर बाटोमा ग्राभेलिङ्ग गरिएको छ ।

निकुञ्जका जनावरले गर्ने मानवीय र भौतिक क्षति रोक्न स्थानीय, प्रदेश र संघ सरकारको सहयोग बिना सम्भव नहुने वडा अध्यक्ष चौधरी बताउँछन् ।

‘बासिन्दाले बालीनाली भित्र्याउन पाउदैन, कतिले त ज्यान नै गुमाई सकेका छन्’ उनी भन्छन्, ‘यो समस्या समाधान हुन पाएको दिन मलाई पनि शान्ति मिल्थ्यो, त्यो बेला त म सेनाको कुटाई पनि बिर्सिन्थेकी भन्ने सोच्छु ।’

Himal dental
सम्बन्धित
Loading...