

महेन्द्रनगर । नेपाली काँग्रेस भीमदत्त नगरपालिका १२ नम्बर वडा समितिले शनिबार भएको निर्वाचन बदर गर्न जिल्ला सभापतिसित माग गरेको छ । काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत शनिबार भीनपा १२ को वडा अधिवेशन भएको थियो ।
शनिबार काँग्रेस वडा उप सभापतिद्वय भुपेन्द्र बहादुर विष्ट र गोपाल साउँदको अध्यक्षतामा क्रियाशिल सदस्य सहित बसेको बैठकले पार्टी विधान र लोकतान्त्रिक मूल्य मान्यता विपरित वडा अधिवेशन भएको भन्दै बदर गर्न माग गर्ने निर्णय गरेको थियो ।
वडा समितिले निर्णयबारे बैठकमा सहभागी क्रियाशिल सदस्यका नामावली सहितको बैठकको निर्णय पार्टी सभापति पदम बोगटीलाई जानकारी गराएको हो ।

काँग्रेस संस्थापनले बोगटीलाई केही दिन अघि जिम्मेवारीबाट हटाएको थियो । बोगटी १४ र्आैं महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति हुन् ।
काँग्रेस संस्थापनले शनिबार वडा अधिवेशन गराएको हो । अधिवेशनबाट जनक कामीको अध्यक्षतामा वडा समिति बनाइएको छ ।
उप सभापतिद्वय विष्ट सहितको वडा समिति बैठकले अधिवेशनमा वडाका एक सय भन्दा बढी क्रियाशिल सदस्यमध्ये ९ जना मात्रै सहभागी भएको र २३ जनाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको निर्णयमा उल्लेख गरेको छ ।
क्रियाशिल सदस्यको घरदैलोमा गएर मनोयन फाराममा दस्तखत गराएको र सहकारी कार्यालयको कार्यालयमा बोलाएर क्षेत्रीय प्रतिनिधि बनाइएको वडा समितिले आरोप लगाएको छ ।
बैठकले पार्टी विधान विपरित गण पुरक संख्या नभएर वडा समिति र क्षेत्रीय समिति चयन भएकाले जिल्ला निर्वाचन सहित समिति काँग्रेस कञ्चनपुरलाई अधिवेशन बदर गर्न माग गर्ने निर्णय गरिएको छ ।
