


महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–११ दिपनगरमा सञ्चालन भइरहेको खुला देउडा कार्यक्रमले सुदूरपश्चिमको मौलिक संस्कृति संरक्षणसँगै जलवायु परिवर्तन र वातावरण संरक्षणको सन्देश प्रवाह गरिरहेको छ । ‘जलवायु परिवर्तन तथा वातावरण संरक्षण’ मूल विषयमा असोज ५ देखि ९ गतेसम्म आयोजना गरिएको कार्यक्रममा स्थानीय कलाकार तथा देउडियाहरूले विभिन्न प्रस्तुति दिइरहेका छन्।
वसन्त सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रन सिंह सुनारको सभापतित्वमा गरिएको कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले देउडा सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक पहिचान भएकाले यसको संरक्षणका लागि स्थानीय तहबाट आवश्यक सहयोग गरिने बताए ।
उनले देउडामा पहिले देवता, वीर–वीरङ्गना तथा स्थानीय इतिहासका कथा प्रस्तुत गरिने गरेको स्मरण गर्दै पछिल्लो समय त्यस्ता मौलिक विषयवस्तु हराउँदै गएको बताए ।
नगरप्रमुख महराले जलवायु परिवर्तनको असर नेपालमा मात्रै नभई विश्वव्यापी रूपमा बढिरहेको उल्लेख गर्दै यसको प्रभाव भूगोल र परिवेशअनुसार फरक–फरक रूपमा देखिएको बताए । उनले नेपाल जलवायुजन्य विपद्को जोखिममा रहेको र रसुवामा आएको बाढीसमेत जलवायु परिवर्तनका असरहरूसँग जोडिएको विषय भएको उल्लेख गरे ।
ृउनले जलवायु परिवर्तनका विषयमा देशभरका स्थानीय तहले मुस्ताङ घोषणापत्रमार्फत प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी दिँदै जलवायु न्यायका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्ना मुद्दा सशक्त रूपमा उठाउनुपर्ने धारणा राख्नुभयो। जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्तले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि चुरे संरक्षण महत्वपूर्ण रहेको बताउँदै बाढी र भू–क्षयको समस्या बढ्दै गएको उल्लेख गरे ।
कार्यक्रममा देउडीया करनसिंह ऐरले देउडा संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रम को सह आयोजक दिपज्योति ग्रामीण विध्युत सहकारी संस्थाका अध्यक्ष महेश बिष्टले जलवायु परिवर्तनका विषयमा जानकारी दिए ।
कार्यक्रम रामबहादुर चुनाराले सञ्चालन गर्नुभएको थियो। खुला देउडा कार्यक्रम बसन्त सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा तथा दिपज्योति ग्रामीण विद्युत् सहकारी संस्थाको सह–आयोजनामा भइरहेको छ। कार्यक्रममा आठ जना देउडीयाले जलवायु परिवर्तनको असर बारे देउडा मार्फ सन्देश दिने बताइएको छ ।
