ghar sansar

के गरेर देशभरमै प्रथम भयो सुदूरपश्चिम शिक्षा विकास निर्देशनालय

khasi

महेन्द्रनगर । सुदूरपश्चिम शिक्षा विकास निर्देशनालय डोटी देशभर प्रथम भएको छ। संघीय सरकारले सातै प्रदेशका शिक्षा निर्देशनालयको कार्यसम्पादनबारे गरेको परीक्षणमा सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालय डोटी पहिलो भएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले सातै शिक्षा निर्देशनालयको कार्यसम्पादनका आधारमा विभिन्न मापदण्डमा गरेको मूल्यांकनमा डोटी पहिलो भएको जनाएको छ ।

शिक्षा विकास निर्देशनालयको कार्यसम्पादन परीक्षणको एकीकृत प्रतिवेदन ०८१÷८२ र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनअनुसार सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालय डोटीले ८३.३७ उच्चतम अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

कार्यसम्पादन परीक्षण मार्गदर्शनअनुसार कार्यसम्पादनको भारित प्राप्तांक र समग्र स्तरलाई प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिमले उत्कृष्ट नतिजा हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशगत रूपमा कोशी प्रदेशको ४९.७१ (सामान्य वा सन्तोषजनक), मधेश प्रदेशको ३९.५१ (कमजोर), बागमती प्रदेशको ८०.८७ (धेरै राम्रो), गण्डकी प्रदेशको ६६.० (राम्रो), लुम्बिनी प्रदेशको ५७.९१ (सामान्य वा सन्तोषजनक) र कर्णालीको ७१.०३ (राम्रो) अंक रहेको छ ।

dirghayi clinic

सुदूरपश्चिम र बागमतीको कार्यसम्पादन राम्रो देखिए पनि बागमतीभन्दा सुदूरपश्चिम २.५ अंकले अगाडि रहँदै पहिलो स्थानमा आएको हो ।

सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालय डोटीका महानिर्देशक दुर्गादत्त विष्टले प्रदेश र संघीय सरकारले दिएको जिम्मेवारी समयमै गुणस्तरीय ढंगबाट प्रभावकारी परिणाममुखी रूपमा सम्पन्न गरेपछि स्वतन्त्र समितिले गरेको मूल्यांकनमा उत्कृष्ट नतिजा आएको बताए ।

महानिर्देशक विष्टका अनुसार केन्द्र सरकारको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले कार्यालयको कामकारबाहीका साथै फिल्डमा सेवाग्राहीसँग समेत सोधपुछ गरी विभिन्न मापदण्डका आधारमा मूल्यांकन गरेको थियो ।

शिक्षा क्षेत्रका वरिष्ठ अधिकृतसमेत रहेका विष्ट यसअघि दार्चुलाको शिक्षा अधिकारी हुँदा तीनपटक दार्चुला र एकपटक डडेल्धुरा देशभर प्रथम भएको बताएका छन् । अहिले प्रदेशकै महानिर्देशक–प्रमुखको जिम्मेवारीमा रहँदा सुदूरपश्चिम देशभरकै प्रदेशमध्ये पहिलो भएको उनको भनाइ छ।

कार्यालय प्रमुखको नेतृत्वमा शिक्षा सुधारको महत्त्वपूर्ण जिम्मेवारी रहने भएकाले महानिर्देशक विष्टको नेतृत्वमा शिक्षा विकास निर्देशनालय डोटी देशभर प्रथम भएसँगै सुदूरपश्चिमको शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार भएको शिक्षा क्षेत्रसँग सरोकार राख्नेहरूको भनाइ छ।

साभार : नयाँ पत्रिका

Himal dental
सम्बन्धित
Loading...