
भीमदत्त नगर नेतृत्वका आकाँक्षीको प्रदेश सभापतिमा प्रतिस्पर्धा, पदम बुडा र अशोक पाण्डेयमा कसले जित्ला सभापति

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ क प्रदेश सभापतिका लागि अशोक पाण्डेय र पदम बुडा उम्मेदवार भएका छन् । काँग्रेस १५ औं महाधिवेशनमा आइतबार दुबैले प्रदेश सभापतिमा उम्मेदवारी दिएका हुन् ।
पाण्डेय भीनपा १० र बुडा भीनपा १७ बाट क्षेत्रीय प्रतिनिधि भएर आएका हुन् । काँग्रेस १७ का निवर्तमान वडा सभापति बुडा निर्वाचित वडा अध्यक्ष हुन् । उनी २०७९ को निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए ।
पाण्डेय र बुडाबीच यस अघि भीमदत्त नगर अधिवेशनमा चुनावी प्रतिस्पर्धीका रुपमा भेट हुने आँकलन गरिएको थियो ।
उनीहरु दुबै जनाले नगर सभापतिमा आकाँक्षा राखेका थिए । बुडाले नगर सभापतिमा उम्मेदवारी दिएर छाडेका थिए । पाण्डेय प्रदेश सभापतिका लागि नगर सभापति उम्मेदवार हुन रोकिए ।

असोज ७ गते भीमदत्त नगर अधिवेशन भएको थियो । अधिवेशनबाट सुशिल भट्ट सभापति भएका छन् । अहिले क्षेत्रीय अधिवेशनमा पाण्डेय र बुडा फेरि प्रदेश सभापतिका लागि प्रतिस्पर्धी भएका छन् ।
निर्वाचन समितिका अनुसार प्रदेश सभापतिमा उनीहरु दुई जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले सोमबार साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।
कञ्चनपुर ३ मा ७ सय १७ मतदाता छन् । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा अधिवेशन जारी छ ।
