

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ७ मा सरसफाइ अभियान सम्पन्न भएको छ ।
अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र वातावरण संरक्षण तथा समाज कल्याणसंघ नेपाल (पेसवान) को साझेदारीमा सञ्चालित उत्थानशिल भविष्य, बाल विवाह अन्त्य परियोजना अन्तर्गत गठन गरिएको कोपिला किशोरी क्लबको अगुवाइमा उक्त सरसफाइ अभियान सञ्चालन गरिएको हो ।


अभियानमा समुदाय तथा विद्यालयका किशोर–किशोरीहरू, स्थानीय अगुवा तथा अन्य सरोकारवालाहरूको सहभागिता थियो । सहभागीहरूले विद्यालय तथा समुदाय आसपासका क्षेत्रमा सरसफाइ गर्दै फोहोर व्यवस्थापन, स्वच्छ वातावरण र सरसफाइको महत्वबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गरेका थिए ।
कार्यक्रमले किशोर–किशोरीहरूलाई समुदायको सरसफाइ तथा सामाजिक अभियानमा सक्रिय रूपमा सहभागी गराउनुका साथै नेतृत्व क्षमता, सामूहिक कार्य र जिम्मेवारीवोध विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

“स्वच्छ समुदाय निर्माणमा किशोर–किशोरीको सक्रिय सहभागिता आवश्यक छ”भन्ने सन्देशसहित सम्पन्न अभियानमा सहभागीहरूले नियमित सरसफाइ गर्ने र आफ्नो समुदाय तथा विद्यालयलाई स्वच्छ राख्न निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
