
झोलुङ्गे पुल चुँडिएपछि निरीक्षण गरी फर्किए सुुदूरपश्चिमका मुख्यमन्त्री, भन्छन्– पुनः निर्माण कार्यलाई सरकारले प्राथमिकता दिन्छ

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले महाकाली नदीमा चुँडिएर क्षतिग्रस्त भएको झोलुङ्गे पुलको स्थलगत निरीक्षण गरेका छन् । भीमदत्त नगरपालिका १३ र दोधारा चाँदनी ४ जोड्ने झोलुङ्गे पुलको दोधारा चाँदनीतिरको क्षेत्रमा बुधबार बिहान पिलर भासिएपछि लठ्ठा चुडिएका छन् ।
मुख्यमन्त्री भट्ट पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल सहित विभिन्न मन्त्रालयका मन्त्री र कर्मचारी लिएर आएका हुन् ।
पुल निरीक्षणपछि छलफल गरी उनी उनी फर्किएका छन् । मुख्यमन्त्री भट्ट सहित सुुदूरपश्चिम सरकारका पूवक्ता उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल, भौतिक पूवधार विकास मन्त्री ओम विक्रम भाट(सरल), आर्थिक मामिला तथा योजना मन्त्री राज्यमन्त्री जानकी कुँवर लगायतले निरीक्षण गरेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री भाटले पुल क्षतिग्रस्त भएको जानकारी पाएपछि मुख्यमन्त्री सहित मन्त्रालयको प्राविधिक टीम लिएर निरीक्षणमा आएको बताए ।
मुख्यमन्त्री भट्टले भत्किएको पुल निर्माणका लागि सरकार प्राथमिकता साथ अघि बढ्ने बताए ।

उनीहरुसंगै सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य गोकर्ण भट्ट पनि निरीक्षणमा सहभागी भएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला सहित सरकारी अधिकारी पनि सहभागी भएका छन् ।
पूर्व मुख्यमन्त्री रावलले दुबैतिरका लटठ्ठा तत्काल मर्मत गर्न नसकिए ठूलो खतरा हुने भएकाले प्राविधिक अध्ययन गरी ढिलो गर्न नहुने बताए ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले निरीक्षणपछि मुख्यमन्त्री भट्टलाई पुल मर्मत कार्य छिटो सुरु गर्न माग गर्दै मागपत्र बुझाएका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री ओम विक्रम भाटले महाकाली नदीबाट बर्षनी बढी वा कम नदीजन्य पदार्थ उत्खनन्का कारण भएको बारे अध्ययन गर्नुपर्नेमा जोडदिए । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री प्रकास रावलले पर्यटकीय दृष्ट्रिकोणबाट समेत पुल शिघ्र निर्माणका लागि पहल गरिने बताए ।
पुलको एउटा स्पान र बीचको टावर खसेपछि पुल लत्रिएर नदीमा पुगेको छ ।
मुख्यमन्त्री निरीक्षण आउन अघि कञ्चनपुर प्रशासनले प्राविधक अध्ययका लागि पहल गरिएको जानकारी दिएको थियो ।
पुलको एउटा भाग नै नदीमा खसेपछि पुलबाट आवतजावत बन्द हुन पुगेको छ ।
