

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री खगराज भट्ट फेरि बजेट ल्याउने समय पछि धकेलेका छन् । मुख्यमन्त्री भट्टले असोज पहिलो साता असोज १५ गतेसम्म बजेट सार्वजनिक गरेका थिए ।
अहिले मुख्यमन्त्री भट्टले बजेट ल्याउने सार्वजनिक गरेको समय एक दिन घर्किएको छ । सत्ता साझेदार एमाले सहयोगमा भट्ट साउन २८ गते मुख्यमन्त्री भएका थिए ।

काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नेतृत्वको तत्कालिन सरकारले चालु आर्थिक वर्षका लागि प्रदेश सभामा बजेट पेश गरेपछि सरकार फेरबदल भएको थियो । तत्कालिन सत्तारुढ काँग्रेससित सहकार्य तोडेर एमाले र नेकपाबीच सत्ता गठबन्धन भएको थियो ।
शाह नेतृत्वको तत्कालिन सरकारका आर्थिक मामिला मन्त्री बिक्रम सिह धामीले प्रदेश सभामा बजेट पेश गरेका थिए । बजेटमाथि छलफल नहुँदै शाह नेतृत्वको सरकार बाहिरिएको थियो ।
संविधान अनुसार असार १ गते प्रदेश सरकारको बजेट प्रदेश सभामा पेश हुनु पर्ने व्यवस्था छ । सुदूरपश्चिममा आर्थिक वर्ष सुुरु भएको तीन महिनासम्म बजेट आउन सकेको छैन ।

बजेट आउन ढिलाई भएपछि नेकपा संसदीय दलको बैठकले असोज १५ गतेभित्र प्रदेशको बजेट ल्याउने गरी तयारी गर्ने निर्णय गरेको थियो ।
बैठकले असोज ८ गतेभित्र योजना बुझाउन सबै साँसदलाई आग्रह गरेको थियो । बैठकमा मुख्यमन्त्री खगराज भट्टले ९ गतेसम्म सबै मन्त्रालयलाई योजना इन्ट्री गर्न निर्देशन दिएका थिए ।
साँसदहरुका अनुुसार भौतिक पूर्वाधार विकास मन्त्रालय बाहेक अन्य सबै मन्त्रालयका योजना बुझाइएका छन् । सुदूरपश्चिम सरकारको सबैभन्दा बढी बजेट पाउने भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना फाइनल गर्न नसक्दा बजेट ल्याउन ढिलाई भएको उनीहरु बताउँछन् ।
साँसहरुका अनुसार सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद र योजना आयोग नियुक्तिले पनि केही समय बजेट ल्याउन अवरोध पुगेको थियो । अहिले ती दुबै विषय हल भएर बजेट ल्याउने गरी तयारी अन्तिम चरणमा पुगेको बताइन्छ ।
नेकपा संसदीय बैठकमा योजना आयोग नियुक्ति विवाद छलफल भएको थियो । मुख्यमन्त्री भट्टले नियुक्त भएपछि आफूले सबैभन्दा पहिले बजेट ल्याउने बताएका थिए ।
महाकाली नदीको झोलुङ्गे चुँडिएपछि दोधारा चाँदनीका आएका मुख्यमन्त्री भट्टसित सहभागी एमाले संसदीय दलका नेता पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले बजेट ल्याउने तयारीकाबीच पुल चुँडिएपछि प्रतिकूलता थपिएको बताएका थिए ।
‘अहिले प्रदेश सरकारलाई बजेट ल्याउने चटारो छ, अहिले नै यस्तो भएर थप प्रतिकूलताको अवस्था आयो’ पूर्व मुख्यमन्त्री रावलले भनेका थिए ।
