

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ जानकी टोलस्थित मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलले धनगढीमा आयोजित दशौँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिग सिनियर टी–२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ ।
देशभरका १५ टीम सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मर्निङ्ग ग्लोरी सेकेन्डरी स्कुल उपाधि जितेको छ । मर्निङ्ग ग्लोरीले नगद एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
शुक्रबार प्रतियोगिता आयोजना स्थान फाप्ला क्रिकेट मैदानमा पुरस्कार सहित ट्रफी प्रदान गरिएको छ ।

विद्यालयका प्रिन्सिपल चुडामणि शर्माले विद्यालयका खेलाडीको अथक मेहनत, परिश्रम र लगनशिलताका कारण उपाधि जित्न सकिएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

‘विद्यार्थीहरूको निरन्तर अभ्यास, अनुशासन र मेहनतले यो सफलता सम्भव भएको हो’ उनले भने, ‘खेलकुद क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले निरन्तर प्रोत्साहन गर्दै आएका छौ, यसबाट थप हौसला मिलेको छ ।’

विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुद क्षेत्रमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । प्रतियोगिताको उपाधि जितेसँगै विद्यालय र विद्यार्थीमा उत्साह थपिएको उनले बताए ।

विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अध्ययनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको छ। यस सफलताले विद्यालयमा क्रिकेट खेलप्रतिको आकर्षण बढाउनुका साथै आगामी दिनमा थप सफलता हासिल गर्न खेलाडीहरूलाई प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

