
शुक्लाफाँटाको तारापुरमा मध्यरात लखेटेर हात्तीले लियो महिलाको ज्यान, हात खुट्टा भाँचिएको र टाउकोमाथि कुल्चिएको अवस्थामा भेटिएकी थिइन् मृतक

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरकी करिब ६२ वर्षीया लक्ष्मीदेवी डगौराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएकी डगौरालाई मंगलबार राति करिब ११ः१५ बजे झोपडी नजिकै जंगली हात्तीले आक्रमण गरी ज्यान लिएको हो। हात्तीले लखेटेर आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।


इलाका प्रहरी कार्यालय झलारीका अनुसार मृतक महिलाको दुबै खुट्टा चुँडिएको, हात भाँचिएको र टाउकोमा हात्तीले खुट्टाले कुल्चिएको अवस्थामा उनको शव फेला परेको थियो ।
मृतक डगौराको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । परिवारजनका अनुसार उनको शव भोलि वनहरा नदीस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। हात्ती अहिले पनि तारापुर क्षेत्रमै रहेको स्थानियको भनाइ रहेको छ ।
