
दशैं मनाउन छाडेर चुनाव प्रचारमै व्यस्त छिन् अधिकारकर्मी चन्द, मतदाताका घरदैलोमा पुगेर सहयोगका लागि बाँड्दै छिन् कार्ड

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा अधिकारकर्मी शारदा चन्दले दशैं मनाउन छाडेर चुनाव प्रचारलाई निरन्तरता दिएकी छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उनले कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् ।
उम्मेदवारी घोषणापछि निर्वाचन क्षेत्रमा चुनाव प्रचार थालेकी उनले दशैंमा पनि निरन्तरता दिएकी छन् । उनी दशैंको नवमीको दिन भीमदत्त नगरपालिका १ मा व्यस्त भएकी छन् । ‘भेटघाटमै छु, आज राजीपुर क्षेत्रमा दुई हजार कार्ड लिएर आएको थिए, सबैलाई दिए’ उनले भनिन्,‘भोलिसम्म यो क्षेत्रभरि ३० हजार कार्ड बाँड्छु ।’
स्वतन्त्र उम्मेदवार चन्दले निर्वाचन क्षेत्रमा सबै घरदैलोमा आफूलाई सहयोग गर्न कार्ड पठाएकी छन् । केही दिन अघि २० हजार कार्ड पठाएकी उनले दशैंको टिकासम्म ३० हजार पुगाउन लागेकी हुन् । ‘अस्तिसम्म २० हजार बाँडि सके, भोलिसम्म ३० हजार पुगाउँछु’ उनले भनिन्,‘आज पनि साँझ तिलाचौरमा पनि कार्ड बाँड्छु ।’
भीमदत्त नगरपालिका ८ तिलाचौरस्थित सञ्चालन गरिएको रामलिलामा चन्दलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । रामलिलामा प्रमुख अतिथिका रुपमा चन्दले आफ्नो मन्तव्य राख्ने भएकी छन् । ‘त्यहाँ गएपछि सहयोगका लागि केही कार्ड पनि बाँड्छु’ उनले भनिन् ।

भीमदत्त नगरपालिका ५ वनखेस्थित वृद्धाश्रम सञ्चालन गर्दै आएकी चन्द नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिध छाडेर स्वतन्त्र उम्मेदवार भएकी हुन् । उम्मेदवार भएपछि उनले कञ्चनपुर क्षेत्र नं. ३ का सबै ३० वडामा घरदैलो र भेटघाट गरि सकेकी छन् ।
पहिलो चरणमा भेटघाट कार्यक्रम गरि सकेपछि चन्दले निर्वाचन क्षेत्र सबै मतदातासम्म सहयोगका लागि कार्ड पठाउन थालेकी छन् । त्यस कार्डमा चन्दले सहयोगको अपील सहित आफूले गरेका सामाजिक कार्यको विवरण उल्लेख गरेकी छन् ।
चन्द अढाई दशक बढीदेखि सामाजिक कार्यमा सक्रिय छन् । भीमदत्त नगरपालिका १५ की चन्द सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धनबाट काँग्रेसका रमेश लेखक चुनाव लड्ने भएका छन् । एमालेबाट निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट र निरुदेवी पाल सिफारिश गरिएका छन् ।
स्वतन्त्रबाट चन्द सहित दुर्गा दत्त पाण्डेयले पनि प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । पाण्डेय भीमदत्त नगरपालिका १० का वासिन्दा हुन् ।
काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि अधिकारकर्मी चन्दलाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लड्न आग्रह गरेको थियो । उनले स्वतन्त्र पार्टीबाट चुनाव लड्ने नभएर स्वतन्त्र भएर चुनाव लड्ने जवाफ दिएकी थिइन् ।
