

महेन्द्रनगर । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवम् पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको भलो नचाहने शक्तिले एमालेलाई सत्ता विमुख गराएको दुखेसो पोखेका छन् । उनले देशी बिदेशी प्रतिक्रियावादी शक्तिको चलखेलमा नेकपा एमालेलाई सत्ताबाट बिमुख गरिएको बताएका हुन् ।
अनेरास्ववियु कञ्चनपुरले आयोजना गरेको स्ववियु निर्वाचन केन्द्रीय बिशेष भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज महेन्द्रनगरमा सम्बोधन गर्दै भण्डारीले देशको भलो नचिताउने शक्ति राष्ट्रहरुको चलखेलमा एमालेलाई सत्ता बिमुख गराइएको बताए ।

‘देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरुले आफ्नो स्वार्थ अनुकुल काम गराउन नेपाललाई प्रयोगशाला बनाउन चलखेल गरिरहेका छन्,’ नेकपा एमालेका सुदूरपश्चिम अध्यक्षसमेत रहेका भण्डारीले भने, ‘राजनीतिक अस्थिरता निम्त्याउन शक्ति राष्ट्रकै चलखेलमा एमालेलाई सत्ताबाट बहिर्गमन गराइएको छ ।’
एमाले बिरुद्धको आठ दलीय गठबन्धन धेरै नटिक्ने समेत उनले दाबी गरे। ‘हामीले अन्य देशका उत्पादन मात्रै नेपाली मुद्राले किन्नु परेको छ, हामी निर्यात गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘अर्थतन्त्र तरल अवस्थामा छ, यहीँ अवस्थामा देशी विदेशी शक्तिको चलखेलले देशलाई कहाँ पु–याउँछ?’ भारतलाई खुसी पार्न परीक्षण विनै खाद्य वस्तु भित्र्याउने काम भइरहेको उनले बताए ।
अहिलेको आठ दलीय गठबन्धन भारतलाई खुसी बनाउन नसकिए सत्ता डगमगाउने मानसिकताका साथ अघि बढेको भण्डारीको आरोप छ । ‘भारतलाई खुसी बनाउन सकिएन भने सत्ता डगमगाउछ, कुर्सी हल्लिछ भन्ने मानसिकतामा अहिलेको आठ दलीय गठबन्धन अगाडि बढ्न खोजेको छ,’ उनले भने, ‘एमालेलाई यो कुरा मञ्जुर छैन, यो धेरै दिन टिक्नेवाला छैन ।’
