
शिक्षक संघमा चुनाव नगरी सर्वसम्मत जिल्ला समिति चयनको प्रयास, कार्यदल गठन
साउँद समूहका भण्डारी र धामी नेतृत्वका आकाँक्षी

महेन्द्रनगर । नेपाल शिक्षक संघ कञ्चनपुरको नवौ जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला समिति चयनका लागि कार्यदल गठन गरिएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा सुरु अधिवेशनको बन्द सत्रबाट शुक्रबार नरेन्द्र सिह भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलमा सिद्धराज भट्ट, लालमनी पाण्डेय, मधु बोहरा लगायतका छन् । बन्द सत्रबाट कार्यदललाई जिल्ला समिति सर्वसम्मत चयन गर्ने म्यान्डेट दिइएको छ ।

संघको जिल्ला समिति यस अघि दुई पटक निर्वाचन नगरी सर्वसम्मत भएका छन् । यस पटक फेरि सर्वसम्मत जिल्ला समिति बनाउने प्रयास गरिएको छ । त्यस बाहेक संघ ६ अधिवेशनमा चुनाव भएर समिति चयन गरिएको छ ।

संघमा यस अघि प्रेम सिह बोहरा र बासुदेब भट्ट सर्वसम्मत अध्यक्ष भएका छन् । २०५१ मा बोहरा सर्वसम्मत भएपछि त्यसपछि अर्को कार्यकाल भट्ट पनि निर्विरोध भएका हुन् ।
संघको देशभरि दुई स्थानमा मात्रै निर्वाचन गरी समिति चयन गरिएकाले जिल्लामा सहमतिमा नेतृत्व चयनका लागि प्रयास गरिएको शिक्षक संघका नेताहरुले बताए । ‘देशभर दुई स्थानमा चुनाव भएको छ, सुदूरपश्चिममा कही पनि भएको छैन’ संघका एक नेताले भने,‘त्यही भएर यता पनि सर्वसम्मत बनाउन कार्यदल गठन गरिएको छ ।’
संघको आठौं अधिवेशनमा एनपी साउँद र रमेश लेखक समूहका दुई प्यानल चुनाव लडेका थिए । संघको अध्यक्षमा लेखक समूहका गणेश बहादुर चन्द निर्वाचित भएका थिए ।
नवौ अधिवेशनमा साउँद समूहका विरेन्द्र सिह भण्डारी र नविन सिह धामी नेतृत्वका आकाँक्षी देखिएका छन् । उनीहरुमध्ये आठौंमा भण्डारी उपाध्यक्ष र धामी सचिवमा निर्वाचित भएका हुन् ।
