

महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको असोज तेस्रो साता हुने प्रथम अधिवेशनका लागि सोमबार सबै जिल्लामा प्रतिनिधि छनौट हुने भएका छन् । एमाले प्रदेश कमिटीको निर्णय अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ ओटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनौट हुन लागेका छन् ।
सुदूरपश्चिममा एमालेका ५३ हजार बढी संगठित सदस्य छन् । ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्ने भएका छन् ।

लुम्बिनीबाट सुरु एमालेको प्रदेश अधिवेशन हालसम्म बाग्तीमा सम्पन्न भएको छ । कोशी र कर्णाली प्रदेशका अधिवेशन जारी छन् । सुदूरपश्चिमपछि मधेस प्रदेश अधिवेशन गरिएपछि एमालेको सबै प्रदेश प्रदेश समिति सकिने छन् ।

एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले केही दिन अघि सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका थिए । कञ्चनपुरमा प्रतिनिधि छनौटको अघिल्लो दिनसम्म सबै पालिकाका प्रतिनिधि छनौटका लागि छलफल भएका छन् ।
एमालेको प्रदेश नेतृत्वका लागि कञ्चनपुरका बहादुर सिहदेखि अछामका कृष्ण जैसी, बाजुराका लाल बहादुर थापा, कैलालीकी झपट बहादुर रावलसम्म आकाँक्षी देखिएका छन् । उनीहरुमध्ये कञ्चनपुरका सिहं र अछामका जैसीबीच अन्तिममा प्रतिस्पर्धा हुने एमाले नेताहरु बताउँछन् ।
सुदूरपश्चिम एमालेमा लेखराज भट्ट, दामोदर भण्डारी, कर्ण थापा र भीम रावलका तीन समूह छन् । ती तीन समूहमध्ये जैसीलाई थापाले अघि सारेका छन् । कञ्चनपुरका सिह र बाजुराका थापा भट्ट भण्डारी समूह तथा रावल भीम रावल समूहका हुन् । बाजुराका थापा केन्द्रीय सदस्य भएकाले उनी उम्मेदवार हुने नहुने अझै निश्चित नभएको एमाले नेताहरु बताउँछन् ।
बैठकले प्रदेश अधिवेशनलाई भव्य रूपमा सफल पार्नका लागि खटिने निर्णय गरेको छ । प्रदेश कमिटीका अहिलेका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठक उम्मेदवार बन्न पाउने छैन्न । उनीहरु दुबै जना जनप्रतिनिधि हुन् ।

