

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाही शनिबार स्मारक क्षेत्रमा आफ्नै पार्टीको कार्यक्रममा मञ्चमा गएर आशन ग्रहण गर्न डराएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा समाजवादीको मेची महाकाली जागरण अभियान अन्र्तगत गरिएको सभामा मन्त्री शाहीलाई मन्त्री र पार्टी केन्द्रीय सदस्यको हैसियतामा आशन ग्रहणका लागि आग्रह गरिएको थियो ।

मञ्चमा आशन ग्रहणका लागि आग्रह गरिए पनि मन्त्री शाही कार्यक्रम अवधिभरि मञ्चमा नगएर बाहिर बसेको नेताहरुले बताए । उनी शनिबार विहान कैलालीको धनगढीबाट जागरण अभियानमा सहभागी भएर महेन्द्रनगर आएका हुन् ।

समाजवादीका नेताहरुका अनुसार मन्त्री शाहीले चालु आर्थिक वर्षमा कञ्चनपुरका लागि बजेट विनियोजन नगरेको भन्दै कार्यकर्ताले विरोध गर्ने तयारी गरेको थाहा पाएपछि मञ्चमा आशन ग्रहण नगरी बाहिर बसेका छन् । मन्त्री शाही मञ्चमा गएपछि विरोध गर्ने कार्यकर्ताको तयारी थियो ।
मन्त्री शाहीले काँग्रेस र माओवादी केन्द्रलाई बोकेर आफ्नै पार्टीका साँदसलाई अटेर गरी बजेट विनियोजन गरेको भन्दै उनको पार्टीभित्र चर्को आलोचना छ । अहिले समाजवादीमा पार्टी, संसदीय दल र अन्य कार्यक्रममा समेत मन्त्री शाहीको विरोध हुने गरेको नेताहरु बताउँछन् ।
समाजवादी आवद्ध अनेरास्ववियुका जिल्ला संयोजक प्रज्वल कुँबरले भने मन्त्री शाहीको विरोध गर्ने भनेर हल्ला फैलिएको हुन सक्ने बताए ।
‘विरोध गर्ने कुनै कार्यक्रम थिएन, हल्ला फैलिएको हुन सक्छ’ उनले भने,‘पार्टी कायकर्ताले सार्वजनिक कार्यक्रममा आफ्ना नेताको विरोध गर्ने कुरा हुँदैन ।’

