
पूर्व गृहमन्त्री लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी, रास्वपा कार्यालय पुग्यो सिआइबीको टोली

महेन्द्रनगर । कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ ।
कास्कीको सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार दिउँसो अनुमति दिएको हो ।


पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्ध पक्राउ पुर्जी लिन कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया समेत अदालत पुगेका थिए । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले लामिछानेविरुद्ध कारवाही सुुरु भएको बताए । । “सहकारीको अनुसन्धानमा कारवाही सुरु भएको हो । काम भएपछि धेरै कुरा खुलिहाल्छ ।”
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । सोही अभियोगमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् उनलाई असोज ६ गते पक्राउ गरिएको थियो ।
यसैबीच कास्की अदालतबाट पक्राउ गर्ने अनुमति पाएसँगै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली काठमाडौंमा पुगेको छ ।
सिआइबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वको टोली केहीबेर अघि कार्यालयमा प्रवेश गरेको छ ।
