

महेन्द्रनगर । भीमदत्त नगरपालिका –६ मा मंसिर १६ गते हुने उप निर्वाचनका लागि काँग्रेसले बिहीबारसम्म उम्मेदवारको नामावली सिफारिश गर्ने भएको छ । काँग्रेस वडा समितिले बैठक गरी उम्मेदवारको नामावली काँग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ क्षेत्रीय समितिलाई सिफारिश गर्ने भएको हो ।
काँग्रेस भीनपा ६ का वडा सभापति प्रकाश चन्दले एक दुई दिनभित्र वडा समिति बैठक बसेर उम्मेदवारका नामावली क्षेत्रीय समितिमा सिफारिश गरिने बताए । ‘वडा समितिको बैठक बसेर उम्मेदवार सिफारिश गर्छौ, भोलि पर्सिसम्म सिफारिश हुन्छ’ वडा सभापति चन्दले भने ।

काँग्रेसमा वडा सभापति चन्द सहित कमलराज चटौत, नगर सचिव राहुल भट्ट, पत्रकार हरिश भट्ट लगायतका वडा अध्यक्षको उम्मेदवारका आकाँक्षी छन् । काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि मंसिर १६ मा उप निर्वाचन हुन लागेको हो । २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका खड्काको प्यानल निर्वाचित भएको थियो ।
एमाले यस अघि वडा अध्यक्षका उम्मेदवारको नाम सिफारिश गरि सकेको छ । एमाले वडा कमिटीले जिल्ला कमिटी सदस्य राजेन्द्र आग्री र पूर्व शिक्षक बहादुर चन्दको नाम नगर कमिटीमा सिफारिश गरेको छ । एमालेको नगर कमिटीले राय सहित जिल्लामा पठाएपछि उम्मेदवारको अन्तिम नाम टुङ्गो लाग्नेछ ।
एमाले उप निर्वाचनलाई गुमेको विरासत फर्काउने अवसरका रुपमा लिएर निर्वाचनमा होमिने मनस्थितिमा छ । एमालेले २०४९ देखि निरन्तर जित्दै आएको ६ नम्बर २०७९ को गुमाएको थियो । त्यस अघि २०७४, २०५४ र २०४९ मा एमालेले लगातार चुनाव जितेको थियो ।
