

महेन्द्रनगर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सहकारीमा ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबम् पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ परेपछि सडकमा थालिएको आन्दोलनबारे निजी क्षेत्रको धारणा मागेका छन् ।

मन्त्री भण्डारीले रास्वपा सभापतिमाथि छानबिन नै गर्न नपाइने हो भन्दै सडक आन्दोलनलाई तमासा भनेर टिप्पणी गरेका छन् ।

‘सहकारी क्षेत्र उत्पादन मुलक क्षेत्रमा परिचालन हुन सकेन, गलत रुपमा प्रयोग हुँदा संकट आएको छ’ कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा मन्त्री भण्डारीले भने,‘छानबिन गर्दा सडक अवरुद्ध गर्ने, के यो जायज हो, रास्वपा सभापतिमाथि छानबिन नै गर्न नपाइने हो, पोखराको सुदर्शन सहकारीको डेढ अर्ब अपचलन भएको छ, यसमा निजी क्षेत्रको मौनता छ, यसमा मेरो प्रश्न छ ।’
कार्यक्रममा मन्त्री भण्डारीले सहकारी ठगी अनुसन्धान विरुद्ध भई सडक आन्दोलनमा निजी क्षेत्र किन मौन छ भनेर प्रश्न गरेका छन् ।
‘सहकारी अनुसन्धान गर्दा देखिएको तमासा के हो, यसमा निजी क्षेत्रको भनाई के हो, निजी क्षेत्र किन मौन छ, यसमा हाम्रो प्रश्न छ’ मन्त्री भण्डारीले भने,‘सरकार सधैं निजी क्षेत्र प्रोत्साहन गर्न चाहन्छ ।’
