
दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु नभएसम्म इन्टरमोडल यातायात विकास समितिका निर्देशक काठमाडौ नफर्किने


महेन्द्रनगर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउन इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले महेन्द्रनगरमा छाडेर काठमाडौैं फर्किएका छन् ।
मन्त्री भण्डारीले बुधबार विहान दोधारा चाँदनी पुगेर सुख्खा बन्दरगाह निर्माण स्थलको स्थलगत निरीक्षण समेत गरेका छन् । त्यस अघि मन्त्री भण्डारीले मझगाउँ विमानस्थलको निरीक्षण गरेका थिए ।

सुख्खा बन्दरगाह निर्माणस्थल निरीक्षण गरी फर्किएका मन्त्री भण्डारीले कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा उद्घाटनमा सुख्खा बन्दरगाह निर्माण कार्य प्रक्रियाका लागि रुख कटान लगायतका प्रक्रिया सुरु नभएसम्म निर्देशक काठमार्डौं नफर्किने बताएका हुन् ।
‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउन लागि रहेका छौ, वन मन्त्रालयमा दैनिक एक जना पठाएर ड्युटी दियौ’ मन्त्री भण्डारीले भने,‘म आज पनि निर्देशकज्यूलाई लिएर आएको छु, प्रक्रिया सुरु नभएसम्म काठमार्डौ फर्किनु हुन्न ।’
मन्त्री भण्डारीले कार्यक्रममा इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक प्रमुख जिल्ला अधिकारी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अधिकारीसित छलफल गरेको जानकारी दिए ।

सुख्खा बन्दरगाह निर्माण कार्य छिटो अघि बढाउन कार्यकारी निर्देशकको कार्यकाल थप गरिएको बताए । ‘वहाँको कार्यकाल सकिएको थियो, नयाँ नियुक्ति गर्दा प्रक्रियामा गएपछि समय लाग्छ भनेर वहाँलाई नियुक्ति गरेका छौ’ मन्त्री भण्डारीले भने ।
उनले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण काम छिट्टै अघि बढ्ने बताएका छन् ।
केही दिन अघि मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केहि महिनाभित्रै निमार्णको काम सुरु गरिने बताए ।
’मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अन्य प्रक्रिया सुरु गरेर छिट्टै निमार्णको काम थालनी हुनेछ’, मन्त्री भण्डारीले भने, ’छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्ने गरि सरकारले उच्च प्राथमिकतामा राखेको छ।’ उनले भारत सरकारले पनि चाँडो सम्पन्न गर्ने गरि चासो राखेकाले छिट्टै निमार्ण सम्पन्न हुने बताए ।
’सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको छ’, उनले भने, ’यी नाका खुल्ने बित्तिकै सुदूरपश्चिम मात्रै नभइ सिङ्गो देशले आर्थिक फड्को मार्ने छ।’ उनले सो नाका सञ्चालनमा आए मुलुकको सबैभन्दा छोटो नाका बन्ने बताए ।
सुक्खा बन्दरगाह निमार्णका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय भएपछि बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
