

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले २२ सटर भत्काएको मदनचोकमा फेरि सटर बनाउने भएपछि प्रतिपक्षी दलका युवा विद्यार्थीले विरोध गरेका छन् ।
भीमदत्त नगरपालिका र प्रशासन कार्यालयलाई ज्ञापन बुझाएका उनीहरुले बिहीबार सटर निर्माण स्थलललाई विश्राम वाटिका नामारकण गर्दै वृक्षारोपण गरेका छन् ।

नेकपा माओवादी केन्द्रका बिरेन्द्रराज विष्टले नगरपालिकाले मापदण्ड मिचेर सडक किनार सटर बनाउन नसक्ने बताए ।
सहरको सौन्दर्य कुरुप बनाउने किसिमले फुटपाथमा सटर बनाउने चर्चापछि त्यो रोक्न विरुवा रोपिएको विद्यार्थी नेता दिपेन्द्र सिंह ऐरीले बताए ।
मदनचोकस्थित खानेपानी संस्थान अगाडी भीमदत्त नगर विकास समितिले निर्माण गर्ने भनिएका २२ सटरको विषयलाई लिएर संयुक्त युवा विद्यार्थीहरु विरोधमा छन् ।
उनीहरुले केही दिनअघि भीमदत्त नगरपालिकाको ध्यानाकर्षण गराउँदै २४ घण्टे अल्टिमेटम पनि दिएका थिए।
