

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने भएको छ । एमाले कञ्चनपुरको सचिवालय बैठकले उप निर्वाचनका लागि वडा अध्यक्षको उम्मेदवारको टुङ्गो लगाएपछि आज(शनिबार) दिउँसो पार्टी कार्यालय मदन आश्रित सदनमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गर्न लागेको हो ।
एमालेले दिउँसो २ बजे पार्टी कार्यालयमा सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न र उम्मेदवार घोषणाका लागि पत्रकार सम्मेलन गर्दैछ । एमालेले भीनपा ६ को वडा अध्यक्ष पूर्व प्रंधानाध्यापक बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चन्द एमाले भीमदत्त नगर कमिटीबाट सर्वसम्मत उम्मेदवारका लागि सिफारिश गरिएका हुन् ।


एमाले वडा कमिटीबाट चन्द र जिल्ला कमिटी सदस्य राजेन्द्र आग्रीको नाम नगर कमिटीमा सिफारिश गरिएको थियो । नगर कमिटीले आकाँक्षीद्वय चन्द र आग्रीबीच सहमति गराएर चन्दको नाम जिल्ला कमिटीमा सिफारिश गरेको थियो । त्यसका आधारमा चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
पूर्व प्रधानाध्यापक चन्दलाई उम्मेदवार बनाएर एमाले २०७९ को स्थानीय तह निर्वाचनबाट गुमेको विरासत फर्काउने रणनीतिमा छ । त्यसका लागि एमालेले चन्दलाई सर्वसम्मत उम्मेदवार बनाएको हो । २०४९ देखि लगातार जित्दै आएको भीनपा ६ मा एमाले पहिलो पटक २०७९ को निर्वाचनमा पराजित भएको थियो ।
काँग्रेसबाट निर्वाचित अध्यक्ष महेन्द्र खड्का गत वर्ष निधन भएपछि मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो ।
