

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ सहित सुदूरपश्चिमा विभिन्न स्थानीय तहका रिक्त ६ पदका मंसिर १६ गते उप निर्वाचन हुन लागेको छ । भीमदत्त नगरपालिका ६ मा वडा अध्यक्षका लागि उप निर्वाचन हुन लागेको छ । सत्ता सत्ताधारी काँग्रेस एमाले सहित राजनीतिक दलहरु उम्मेदवार बनाएर चुनावी प्रचारमा लागि सकेका छन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्षको लागि उप निर्वाचन हुँदैछ । कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि सो पदका लागि उपनिर्वाचन हुँदैछ।


जोशी १ हजार ८१० मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी एमालेका सुलोचना कुमारी भण्डारीले एक हजार ६३७ मत पाएकी थिइन् भने माओवादी केन्द्रका सुरेश बहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए। यस्तै बझाडको सूर्मा गाउँपालिका वडा नम्बर ४ मा एमालेका सर्जनबहादुर बोहरा ६२९ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा गत निर्वाचनमा कांग्रेसका पुष्पराज जोशीले ५१३ मत पाएका थिए भने प्रतिस्पर्धी एमालेका देवबहादुर भण्डारीले ३८७ मत पाएका थिए ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा गत निर्वाचनमा माओवादी केन्द्रका मनोरथ भट्टले ५८२ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३०२ मत पाएका थिए ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुखको निधन भएका कारण उनको स्थानमा पनि उपनिर्वाचन हुँदैछ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा गत निर्वाचनमा नेपाली कांग्रेसका महेन्द्र खड्का एक हजार १०२ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी एमालेका जनकराज अवस्थीले ६९८ मत पाएका थिए । तेश्रो स्थानमा राप्रपाका सुशीलकुमार भट्टले ४८७ मत पाएका थिए ।
