

महेन्द्रनगर । पहिलो पटक स्थानीय तह निर्वाचन लडेको सात वर्षपछि माओवादी केन्द्रका नेता नानाराम कोली वडा अध्यक्षको उम्मेदवार बनेर उप निर्वाचनमा होमिएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रबाट भीमदत्त नगरपालिका ६ मा वडा सदस्य चुनाव लडेका हुन् । मंसिर १६ गते हुने उप निर्वाचनमा उनी माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बनेका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी वडा अध्यक्ष चुनाव लड्न चाहन्थे । नेकपा एकीकृत समाजवादीसित चुनावी तालमेल भएपछि २०७९ को निर्वाचनमा उनले चुनाव लड्न पाएन ।
‘२०७४ मा पहिलो पटक स्थानीय तह चुनाव लडे, अहिले फेरि उप निर्वाचनमा पार्टीले टिकट दिएपछि चुनाव मैदानमा आएको छु’ उनले भने,‘२०७९ को निर्वाचनमा समाजवादीसित तालमेल भएकाले चुनाव लड्न सकेन, तालमेल नभएको भए लड्थे ।’
माओवादी केन्द्रमा वडा अध्यक्ष पदको उम्मेदवारका लागि उनी सहित ६ जना आकाँक्षी थिए । वडा कमिटी अध्यक्ष अध्यक्ष कोलीलाई माओवादी केन्द्रले सर्वसम्मत उम्मेदवार बनाएको हो ।
माओवादी केन्द्रका उम्मेदवार कोली दलित र मुक्त हलिया समुदायका अगुवा हुन् । उनी हलिया मुक्ति आन्दोलनमा अढाई दशकदेखि सक्रिय छन् ।

सुदूरपश्चिममा वर्षौदेखिको दास प्रथाका रुपमा चिनिने हलिया प्रथा अन्त्यका लागि थालिएका आन्दोलनमा उनी सुरुदेखि सहभागी भएका हुन् ।
सुदूरपश्चिममा २०५८ को आशपासमा हलिया मुक्ति आन्दोलन थालिएको थियो । सुरुदेखि हलिया मुक्ति आन्दोलनमा सहभागी भएका उनी हालसम्म हलिया मुक्तिका लागि सक्रिय रुपमा लागेका छन् ।
६० वर्षिय कोली हाल हलिया मुक्ति समाज कञ्चनपुरका उपाध्यक्ष छन् । हलिया मुक्ति, मुक्त हलिया पुनस्र्थापन, हलिया, दलित समुदायमाथि हुने जातीय विभेद, छुवाछुत, सामाजिक, आर्थिक विभेद अन्त्यका लागि सधै अग्र पंक्तिमा हुन्छन् कोली ।

‘दलित, हलिया, गरीब, विपन्न, महिला, आदिवासी सबै कमजोर समुदायको दुःख पीडाले मलाई निकै घोच्छ, यी समुदायका हक अधिकार संरक्षणका लागि म सधैं सक्रिय भएर लागि रहनेछ’ उम्मेदवार कोली भन्छन् ।
समाजमा आर्थिक, सामाजिक, राजनीतिक रुपमा पछाडि परेका समुदायका उत्थान नभएसम्म समाज विकासको बाटोमा अघि बढन् नसक्ने कोलीले बताए ।

गरीब र पछाडि पारिएका समुदायका हक अधिकारका लागि बोल्ने पार्टी भएकोले माओवादी पार्टीमा लागेका कोली निर्वाचन प्रचारप्रसारमा जनताबाट पाएको साथ र सहयोगले उत्साहित भएको बताउँछन् ।
‘घरदैलोमा धेरै नै राम्रो छ, जनताले गरीब, दलित, हलिया, महिला सबैको हक अधिकारका लागि काम गर्ने पार्टी माओवादी नै हो भन्छन्, यसले म निकै खुसी छु’ उम्मेदवार कोलीले भने,‘म गरीब, कमजोर समुदायको हक हितका लागि लड्ने भएकाले मलाई उप निर्वाचनमा वहाँहरु सबैले साथ सहयोग दिनु हुन्छ भन्ने विश्वास छ ।’
माओवादी केन्द्र सम्बद्ध दलित मुक्ति मोर्चाको जिल्ला संयोजक भइ सकेका उनी शुक्लाफाँटा नगरपालिकाको पिपलाडीबाट माओवादी केन्द्रको राजनीतिमा आएका हुन् ।
तत्कालिन सरकारले २०५८ मा संकटकाल लगाएपछि गरीब जनताको हक अधिकारका लागि माओवादी केन्द्रमा लागेका हुन् ।
भीमदत्त नगरपालिका ६ आउन अघि उनी पिपलाडीमा बसोबास गर्दै आएका थिउ । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षले वस्ती हटाएपछि उनी विस्थापित भएर भीनपा ६ आएका हुन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ पुख्र्यौलीका उनी उप निर्वाचन जित्न विहानदेखि साँझसम्म चुनाव प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् । चुनाव प्रचारमा उनले एमाले काँग्रेसले ६ नम्बरमा विगतदेखि चुनाव जित्दै आएर पनि केही गर्न नसकेको मतदातालाई बताउँदै आएका छन् ।
कोलीलाई वडा अध्यक्षमा जिताउन संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट, सुदूरश्चिम प्रदेशका पूर्व राज्य मन्त्री मान बहादुर सुनार, माओवादी केन्द्रका केन्द्रीय सदस्य माया नेगी, नेताहरु खेमराज पाण्डेय, देबेन्द्र ढुङ्गाना, लोकराज जोशी, शंकर कुँबर लगायत चुनावी प्रचारप्रसारमा छन् ।
पूर्व राज्यमन्त्री सुनारले कोलीको चुनाव प्रचारको नेतृत्व गरेका छन् । उनी भीनपा ६ को उप निर्वाचनको प्रचारप्रसार समितिका संयोजक हुन् ।
